बागमती प्रदेशमा बन्न लागेको नेकपा र नेकपा (एमाले) नेतृत्वको सरकारलाई समर्थन गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र विवाद चर्किएको छ।
राप्रपाको केन्द्रदेखि बागमती प्रदेश संसदीय दलको सचिवालयले समेत समर्थन आधिकारिक नभएको दाबी गरिरहेका छन्। तैपनि राप्रपाका तीन सांसद भने आजै मन्त्रीको शपथ लिने तयारीमा जुटेका छन्।
एमालेका किरण थापा नेतृत्वको सरकारमा राप्रपाबाट तीन जनालाई आजै नियुक्त गरेर सपथ खाने तयारी भइरहेको बताइएको छ। बागमती प्रदेश संसदीय दलका उपनेता गिरबहादुर तामाङ (ज्ञानुजंग लामा) को नेतृत्वमा राप्रपा प्रदेश सरकारमा सहभागी हुन लागेको राप्रपाले जनाएको छ।
उपनेता लामाका अनुसार उनीसहित राजु विष्ट र राजेन्द्र प्रजापतिले आजै सपथ लिने तयारी छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आठ मन्त्रालय रहेको बागमतीमा एमालेले मुख्यमन्त्रीसहित तीन, नेकपाले दुई र राप्रपाले तीन मन्त्रालय लिने सहमति भएको छ।
त्यही सहमतिअनुसार, ज्ञानुजंग स्वास्थ्य तथा सामाजिक विकासमन्त्री, राजु विष्ट खानेपानी, उर्जा तथा सिँचाइमन्त्री र राजेन्द्र प्रजापति उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री नियुक्त गरी आजै सपथ ग्रहण गरिने उपनेता तामाङले बताए।
राप्रपाभित्र कुनै विवाद नरहेको बताउँदै उनले संविधान, पार्टीको विधान र संसदीय अधिकारलाई पालना गरेर सरकारमा जाने निर्णय गरेको बताए। बागमती प्रदेशमा नयाँ सरकर गठनमा थापाले दावी पेश गरेदेखि नै राप्रपाभित्र विवाद सुरु भएको हो।
राप्रपा संसदीय दलले दिएको समर्थ अस्वीकार गर्न राप्रपा केन्द्रले पत्रचार गरेको छ भने संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङले पनि पत्रचार गरेकी छन्।