सिरहाको नवराजपुर गाउँपालिका-४ मा श्रीमतीमाथि अमानवीय ढंगले घरेलु हिंसा गरेको आरोपमा पक्राउ परेका ३३ वर्षीय रामशंकर यादवलाई जिल्ला अदालत सिरहाले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ।
प्रहरीका अनुसार गत साउन ५ गते राति करिब १० बजे यादवले भाइ श्यामसुन्दर यादवको सहयोगमा आफ्नै श्रीमती सञ्जनामाथि घरभित्रै कुटपिट गरेका थिए। घरको झ्यालढोका बन्द गरी भात पकाउने चुलोमा फलामको रड तताएर हातखुट्टा तथा शरीरका विभिन्न भागमा प्रहार गरेको आरोप उनीमाथि छ।
पीडितलाई हातखुट्टा बाँधेर मुखमा कपडा कोचिएको र गम्भीर यातना दिइएको प्रहरीको भनाइ छ।
घरभित्रबाट चर्को आवाज र झगडाको आवाज सुनेपछि छिमेकीले ढोका फोडेर सन्जनाको उद्धार गरेका थिए। घटनाबारे प्रहरीलाई खबर गरेपछि उनलाई उपचारका लागि नवराजपुरस्थित सरकारी अस्पतालमा भर्ना गरिएको थियो।
पीडित सञ्जनाले श्रीमान्को मोबाइलमा आएको फोन उठाएर कुराकानी गरेको विषयलाई लिएर आफूलाई चरम यातना दिइएको बताएकी थिइन्। उनका अनुसार हातखुट्टाका नङ निकाल्न प्रयोग गर्ने उद्देश्यले दुईवटा पिलाससमेत तयारी अवस्थामा राखिएको थियो। छिमेकीहरू समयमै नआएको भए आफ्नो ज्यानै जान सक्ने अवस्था रहेको उनले दाबी गरेकी थिइन्।
घटनालगत्तै इलाका प्रहरी कार्यालय महेशपुर पतारीले रामशंकर यादवलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले अनुसन्धान पूरा गरी आवश्यक कानुनी कारबाहीका लागि उनलाई जिल्ला अदालत सिरहामा पेश गरेको थियो।
अदालतको आदेशपछि यादवलाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न भनिएका अन्य व्यक्तिमाथि समेत अनुसन्धान भइरहेको जनाइएको छ।