मकवानपुरको भीमफेदीमा स्कारपियो दुर्घटनामा परेर घाइते भएका चार जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ।
नेपाली सेनाको हेलिकप्टरमार्फत उच्च अदालत वीरगन्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी, दुर्घटनामा घाइते भएका रजिस्ट्रार तारादत्त बडुकी श्रीमती लक्ष्मी बडु, छोरा रितेन्द्र बडु र दिदी रिता बडुलाई काठमाडौँस्थित छाउनी अस्पताल लगिएको हो।
आज बिहान ९ः१५ बजे उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिए।
घाइतेमध्ये लक्ष्मी बडुको अवस्था गम्भीर रहेको छ भने गोकर्ण डाँगी, रितेन्द्र बडु र रिता बडुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
डीएसपी काफ्लेका अनुसार यसअघि बिहान ९ बजे स्कारपियो चालक दाङ राप्ती नगरपालिका–८ का ३२ वर्षीय छुनिलाल चौधरी र रजिष्ट्रार तारादत्त बडुलाई थप उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको छ।
मंगलबार (आज) बिहान काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो भीमफेदी गाउँपालिका–६ जुरीखेतमा अनियन्त्रित भई सडकबाट करिब ५०/६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको थियो।