पत्रकार किशोर श्रेष्ठले ढिलोचाँडो भ्रमको पर्दा च्यातिने बताएका छन्।
सोमबार सर्वोच्च अदालतको आदेशमा थुनामुक्त भएपछि सामाजिक सञ्जालबाट पहिलो प्रतिक्रिया दिँदै उनले सत्य नमरेको र कलम नहारेको टिप्पणी गरेका छन्।
‘पन्छीको ठाउँ पिँजडा हैन, खुल्ला आकाश नै पृय लाग्छ उसलाई। ढिलो होला तर भ्रमको पर्दा च्यातिन्छ च्यातिन्छ,’ पत्रकार श्रेष्ठले लेखेका छन्, ‘सत्य मरेको छैन, कलम हारेको छैन। सबैलाई बधाई, सबैलाई शुभकामना!’

वैयक्तिक गोपनीयता हननको अभियोगमा पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधान सम्पादक श्रेष्ठको बन्दी प्रत्यक्षीकरण निवेदनको आधारमा सोमबार सर्वोच्चबाट रिहा भएका हुन्।
न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले श्रेष्ठलाई थुनामुक्त गर्न आदेश दिएपछि सोमबार साँझ उनी रिहा भएका थिए।
तर, सर्वोच्च अदालतको आदेशमा रिहा भएकै दिन पत्रकार श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा अर्को जाहेरी दर्ता भएको छ।
उपसभामुख रुविकुमारी ठाकुरले श्रेष्ठविरुद्ध जाहेरी दिएकी हुन्।
श्रेष्ठले जनआस्थाको फेसबुक पेज र अनलाइनमा आफ्नो व्यक्तिगत तस्बिर, मर्यादा र संवैधानिक ओजलाई धमिल्याउने तथा व्यक्तिगत चरित्र र प्रतिष्ठामा गम्भीर र अपूरणीय क्षति पुर्याउने नियतले अत्यन्तै भ्रामक, असत्य, अनर्गल र निन्दनीय समाचार सम्प्रेषण गरेको आरोप उपसभामुख ठाकुरले लगाएकी छन्।
प्रकाशित समाचारबाट आफ्नो व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनमा गहिरो चोट पुर्याएको जाहेरीमा उल्लेख छ। समाचारमा जोडिएका पुरुष आफूले रक्षाबन्धन बाँधेका दाजु रहेको दाबी पनि उनले गरेकी छन्।
उनै पुरुषसँग अनैतिक सम्बन्धको आरोप लगाएर आफ्नो घोर बेइज्जत र चरित्र हत्या गर्ने प्रयास गरिएको जाहेरीमा उल्लेख छ।
उनले जाहेरीसँगै प्रकाशित समाचार र फोटोका प्रति पनि पेस गरेकी छन्।