प्रतिपक्ष दलका सांसदले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई कालो चस्मा खोल्न आग्रह गरेका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठक सुरु हुनेवितिक्कै प्रतिपक्ष दलका सांसदले आफ्नो स्थानमा उठेर विरोध जनाएका थिए। प्रधानमन्त्री शाहको सीमासम्बन्धी विवादित अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलले विरोध जनाउँदै आएका छन्।
सोमबारको बैठकमा पनि प्रतिपक्ष दलका सांसदले विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसकी सांसद रेनुका काउचालाई बोल्न समय दिएका थिए। सांसद काउचाले प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेको भनाइबारे टिप्पणी गरिन्।
‘कालो चस्मा खोल्नुस, तपाई एक्लो हुनुहुन्न,’ सांसद काउचाले भनिन्, ‘मुलुकको हितमा तपाईले चाल्ने हरेक कदममा प्रतिपक्ष तपाईको साथमा छ। ’
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत आफू एक्लै लडिरहेको अभिव्यक्ति दिएका थिए। त्यसलाई लिएर सांसद काउचाले प्रश्न गरेकी हुन्।
उनले राम्रा काममा प्रतिपक्षको साथ रहने र गतल काममा खबरदारी गर्ने बताइन्। तर, नेपालले पनि भारतको जमिन मिचेको भन्ने अभिव्यक्ति सच्याउन आग्रह गरिन्।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले नै विरोध गर्न थालेको प्रसंग निकाल्दै गतल कामको सत्तारुढ दलले पनि विरोध गर्नुपर्ने बताइन्। सांसद काउचाले सबै नेपालीको प्रधानमन्त्री भएकाले संसद्मा आएर जवाफ दिन आग्रह गरिन्।