एमबीएस प्रश्नपत्र लिक प्रकरणमा थप दुई जना प्रहरीको नियन्त्रणमा

 संवाददाता    २०८३, १२ श्रावण मंगलवार १५:२२     16 जनाले पढ़िसके



Spread the love

त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायतर्फको एमबीएस प्रथम सेमेस्टरको MGT 515:Organizational Behaviour विषयको प्रश्नपत्र लिक गरेकाे आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रौतहटको राजदेवी नगरपालिका–४ निवासी २५ वर्षीय अतुल कुमार मिश्र र बाराको लिपनीमाल–१ घर भई हाल पर्साको वीरगञ्ज महानगरपालिका–२१ बस्ने ३१ वर्षीय अब्दुल सानी हाकिम रहेका छन्।

नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार शिक्षा ऐन, २०२८ अन्तर्गतको कसूरमा अनुसन्धानका क्रममा थप दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो।

मिश्रलाई काठमाडौं महानगरपालिका–१३ ताहाचलबाट साउन १० गते पक्राउ गरिएको हो भने हाकिमलाई साउन ११ गते वीरगञ्ज महानगरपालिका–८ बाट पक्राउ गरिएको हो।

गत साउन ८ गते सञ्चालन भएको एमबीएस प्रथम सेमेस्टरको Organizational Behaviour विषयको प्रश्नपत्र विभिन्न व्हाट्सएप समूहमा सार्वजनिक गरी प्रश्नपत्रको लिक गरेकाे आरोपमा यसअघि नै अनुसन्धान सुरु गरिएको थियो। यसअघि प्रश्न पत्र लिक गरेकाे आरोपमा एक जना पक्राउ परेका थिए ।

थप अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ।