इबोलाको प्रकोपले कंगो शोकमा, हजारभन्दा बढीको मृत्यु

 संवाददाता    २०८३, ८ श्रावण शुक्रबार १४:२३     0 View



Spread the love

कंगोमा फैलिएको इबोला प्रकोपले दुई महिनाभन्दा केही बढी अवधिमै एक हजारभन्दा बढी मानिसको ज्यान लिएको छ। यो गति सन् २०१४–२०१६ को इतिहासकै सबैभन्दा भीषण इबोला महामारीको तुलनामा झण्डै तीन गुणा तीव्र रहेको तथ्यांकले देखाएको छ। जसले स्वास्थ्य अधिकारीहरूलाई थप चिन्तित बनाएको छ।

कंगोको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारसम्म हालको प्रकोपमा दुई हजार ५३६ जनामा संक्रमण पुष्टि भएको छ भने एक हजार ३३ जनाको मृत्यु भइसकेको छ। यो प्रकोप गत मे १५ मा औपचारिक रूपमा घोषणा गरिएको थियो।

सन् २०१४–२०१६ को महामारीमा २८ हजारभन्दा बढी संक्रमण र ११ हजारभन्दा बढी मृत्यु भएका थिए। त्यसबेला पहिलो संक्रमण देखिएदेखि एक हजार जनाको मृत्यु हुन करिब आठ महिना लागेको थियो।

तर यस वर्षको प्रकोपमा त्यही संख्या दुई महिनाभन्दा केही बढी अवधिमै पुगेको छ। त्यस्तै दुई हजार ५०० संक्रमितको आँकडा पनि अघिल्लो महामारीको तुलनामा करिब तीन गुणा छिटो पुगेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार इबोला रोग इबोला भाइरस समूहका विभिन्न प्रकारका भाइरसबाट फैलिन्छ। तीमध्ये इबोला भाइरस, सुडान भाइरस र बुन्डिबुग्यो भाइरसले ठुला प्रकोप निम्त्याउने गरेका छन्।

यस वर्षको प्रकोप बुन्डिबुग्यो भाइरसका कारण फैलिएको हो। यो दुर्लभ प्रकारको भाइरस भएकाले यसको स्वीकृत खोप वा प्रभावकारी उपचार उपलब्ध छैन। सन् २०१४–२०१६ को महामारी भने सबैभन्दा सामान्य मानिने इबोला भाइरसका कारण फैलिएको थियो।

हालको प्रकोप मुख्य रूपमा कंगोमै सीमित छ। केही संक्रमण युगान्डामा देखिए पनि अधिकांश प्रभावित क्षेत्र युगान्डा सीमावर्ती पूर्वी कंगोका पाँच प्रान्तमा केन्द्रित छन्। यसविपरीत सन् २०१४–२०१६ को महामारी लाइबेरिया, सियरा लियोन र गिनीसहित पश्चिम अफ्रिकाका धेरै मुलुकमा फैलिएको थियो। त्यसबेला संयुक्त राज्य अमेरिका र युरोपमा पनि सीमित संख्यामा संक्रमण पुष्टि भएका थिए।

यस वर्षको प्रकोपमा मृत्युदर हालसम्म करिब ४० प्रतिशत छ। स्वास्थ्य अधिकारीहरूका अनुसार अधिकांश बिरामीले लक्षण देखिएपछि ढिला स्वास्थ्य संस्थामा पुगेका कारण मृत्यु बढेको हो।

अघिल्लो महामारीमा भने मृत्युदर करिब ६६ प्रतिशत पुगेको थियो। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार इबोला भाइरस समूहका भाइरसमध्ये इबोला भाइरस सबैभन्दा घातक मानिन्छ। उपचार नपाएमा यसबाट संक्रमितमध्ये ९० प्रतिशतसम्मको मृत्यु हुन सक्ने जोखिम रहने उल्लेख गरिएको छ।

स्वास्थ्य अधिकारीहरूले हालको प्रकोप अझै चरम अवस्थामा नपुगेको चेतावनी दिएका छन्। उनीहरूका अनुसार पहिलो संक्रमितको स्रोत अझै पहिचान हुन सकेको छैन।

अधिकांश नयाँ संक्रमित पहिलेदेखि निगरानीमा रहेका सम्पर्क सूचीभन्दा बाहिरबाट भेटिनु, साथै भाइरसको प्रकार पहिचानमा भएको ढिलाइले प्रकोप नियन्त्रणलाई अझ चुनौतीपूर्ण बनाएको छ।

सन् २०१४–२०१६ को इबोला महामारी करिब तीन वर्षसम्म चलेको थियो।

पहिलो संक्रमण डिसेम्बर २०१३ मा देखिए पनि मार्च २०१४ मा मात्र प्रकोप पुष्टि भएको थियो र त्यसलाई जुन २०१६ मा समाप्त भएको घोषणा गरिएको थियो। (रासस/एपी)