‘हाँडी बोकेर स्वर्ग कि नर्क?’ भन्दै ओली–प्रचण्डलाई बास्कोटाको व्यंग्य

 संवाददाता    २०८३, ११ श्रावण सोमबार ११:३२     17 जनाले पढ़िसके



Spread the love

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिच प्रदेशहरूमा सत्ता साझेदारी गर्ने सहमति भएकाप्रति एमालेकै नेता गोकुल बास्कोटाले कटाक्ष गरेका छन्।

सोमबार बिहान सामाजिक सञ्जालमा पोस्ट गर्दै एमाले केन्द्रीय सदस्य बास्कोटाले आफ्ना अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई व्यंग्य गरेका हुन्।

पूर्वमन्त्रीसमेत रहेका उनले यी दुई नेताले सत्ता समीकरणमा नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवालाई पनि उछिनेको टिप्पणी गरेका छन्।

यद्यपि बास्कोटाले प्रचण्ड भन्नेबित्तिकै माओवादी लाग्ने भएकाले होला, नेकपा लेख्नुपर्ने स्थानमा माओवादी उल्लेख गरेका छन्।

‘सता समीकरणमा एमाले र माओवादीले देउवालाई पनि जित्ने हैसियत बनाए। खोपी सत्ता किन बन्छन् र भत्कन्छन्? ती सभाका केही सदस्य र खास नेताबाहेक अरूले सुइँको समेत नपाउने कुरा परम्परा नै बन्यो’, उनले लेखेका छन्, ‘हाँडी बोकेर स्वर्ग कि नर्क बतासझैँ बत्तिएका छन्। विजय मल्लको अन्तिम भोज नै त यो हैन होला? अचम्म लाग्छ।’

२०८१ असार १७ गते तत्कालीन प्रधानमन्त्री प्रचण्डसँग बालुवाटार निवासमा ओलीले भनेका थिए, ‘प्रचण्डजी चिन्ता नलिनुस्। हाम्रो सहमति तोडिन्न। स्वर्ग पनि सँगै जाने हो, नर्क गए पनि सँगै जाउँला।’

त्यसपछि प्रचण्डले आफ्नो पार्टीमा भनेका थिए, ‘साथीहरू चिन्ता नलिनुस्, ओलीजीले सहमति तोड्नुहुन्न। उहाँले स्वर्ग र नर्क सँगै जाउला भन्नुभएको छ। सत्ता गठबन्धनमा तलमाथि हुँदैन।’

तर त्यो कुराकानी भएको ३० मिनेटभित्रै ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच नयाँ सत्ता समीकरणको सहमति सार्वजनिक भएको थियो। ओलीले असार १५ गते नै देउवासँग लिखित सम्झौता गरिसकेका थिए।

प्रचण्डका लागि त्यो एउटा अप्रत्याशित घटना थियो। अनि प्रचण्ड एकाएक सत्ताबाट बाहिरिए भने कांग्रेस-एमालेको गठबन्धन सरकार बनेर ओली पुनः प्रधानमन्त्रीको कुर्सीमा विराजमान भएका थिए। त्यसयता बारम्बार त्यही घटना उल्लेख गर्दै ओलीको आलोचना गरिरहने प्रचण्डले अहिले प्रदेश सरकारहरूमा एमालेसँग गठबन्धन गरेपछि ‘स्वर्ग र नर्क’को प्रसंग पुन: चर्चामा आएको हो।