खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपी अस्पताल भर्ना हुने गरी घाइते

 संवाददाता    २०८३, ८ श्रावण शुक्रबार १३:२४     0 View



Spread the love

रौतहटमा एक युवकले खुकुरी प्रहार गरेर महिलाको हत्या गरेका छन्।

गुजरा नगरपालिका -५ हरिहरपुर टोल निवासी चन्देशवर साहकी पत्नी ४० वर्षीया रेनुदेवी जयसवालको हत्या भएको हाे।

जिल्ला प्रहरी कार्यालय राैतहटका अनुसार घटना शुक्रबार बिहान करिब साढे १० बजेतिरको हो।

एक्कासी खुकुरी प्रहार हुँदा रेनुदेवीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

बाराको करैयामाई गाउँपालिका-८ इटहर बेलाही घर भई हाल गुजरा नगरपालिका-५ हरिहरपुरमा बस्दै आएका अन्दाजी ३५ वर्षीय उपेन्द्र साह कलवारले रेनुदेवीमाथि खुकुरी प्रहार गरेका हुन्।

घटनापछि आक्रोशित स्थानीयवासीले उपेन्द्रमाथि कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएका उनको चन्द्रपुर अस्पताल, चन्द्रनिगाहपुरमा उपचार भइरहेको छ।

घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।