महाकालीको बहाव बढेसँगै यातायात प्रभावित, चार पाङ्ग्रे सवारी बन्द

 संवाददाता    २०८३, ५ श्रावण मंगलवार ११:४९     29 जनाले पढ़िसके



Spread the love

सुदूरपश्चिमका पहाडी जिल्ला र भारतको उत्तराखण्डमा निरन्तर वर्षा भइरहेका कारण महाकाली नदीमा पानीको बहाव लगातार बढ्दै गएको छ। बढ्दो बहावका कारण भारतसँग जोड्ने बनबासास्थित शारदा ब्यारेज (बनबासा पुल) हुँदै हुने चार पाङ्ग्रे सवारीसाधनको आवागमन बन्द गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार मंगलबार बिहान ९:०० बजे शारदा ब्यारेजमा पानीको बहाव १ लाख ९ हजार १८४ क्युसेक मापन गरिएको थियो। त्यसपछि बहाव थप बढेर १ लाख १४ हजार ३९० क्युसेक पुगेको छ।

यसअघि सोही दिन बिहान ३:०० बजे पानीको बहाव ८८ हजार ६९६ क्युसेक रहेको थियो। वर्षा निरन्तर भइरहेकाले नदीको बहाव अझै बढ्ने क्रममा रहेको प्रहरीले जनाएको छ।

बढ्दो बहावलाई मध्यनजर गर्दै प्रशासनले महाकाली नदी आसपासका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले नदी किनारमा अनावश्यक आवतजावत नगर्न, जोखिमयुक्त गतिविधि नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायबाट जारी सूचनाको पूर्ण पालना गर्न सर्वसाधारणलाई अनुरोध गरेका छन्।