प्रधानमन्त्रीको जोड: जनशक्ति होइन, नेपाली उत्पादन निर्यात हुनुपर्छ

 संवाददाता    २०८३, ५ श्रावण मंगलवार १५:३९     11 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री वालेन्द्र शाहले मानिस विदेश निर्यात गरेर मात्रै देश नबन्ने बताएका छन्।

मंगलबार तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री शाहले देश बनाउन मानिस नभई मान्छले उत्पादन गरेका सामग्री निर्यात गर्नुपर्ने बताएको प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले जानकारी दिए।

प्रधानमन्त्री शाहले तयारी पोशाकको निर्यातमा विशेष जोड दिएका अध्यक्ष पाण्डेले बताए। प्रधानमन्त्री शाहले सरकारले तयारी पोशाक उद्योगका समस्या समाधान, निर्यात विस्तार र लगानी प्रवर्द्धनलाई प्राथमिकतामा राखेको पनि बताए।

प्रधानमन्त्री शाहले तयारी पोशाक उद्योग बंगलादेश, भियतनाम, चीन, भारत र श्रीलंकाभन्दा पछाडि पर्नुको कारणबारे पनि जिज्ञासा पनि राखेका थिए।

नेपाल तयारी पोसाक उद्योग सङ्घका अध्यक्ष पशुपतिदेव पाण्डेले नेपालको निर्यात क्षेत्रमा गलैँचापछि तयारी पोसाक दोस्रो स्थानमा रहेको र यसले वार्षिक १० अर्ब रुपैयाँ बराबरको निर्यात गर्ने गरेको जानकारी दिए।

प्रधानमन्त्रीसँगको भेट फलदायी रहेको बताउँदै उनले भने, ‘सरकार पूर्ण रूपमा निजी क्षेत्रमैत्री छ भन्ने भान आज भएको छ। विशेष गरी देशको अर्थतन्त्र नै निजी क्षेत्र हो र अर्थतन्त्रविना देश बन्दैन भन्ने प्रधानमन्त्रीको स्पष्ट धारणा देखियो।’

अध्यक्ष पाण्डेका अनुसार प्रधानमन्त्री शाहले ‘मान्छे निर्यात गरेर देश बन्दैन, मान्छेले उत्पादन गरेको वस्तु निर्यात गरे मात्रै देश बन्छ’ भन्दै उत्पादनमुखी अर्थतन्त्रमा जोड दिएका छन्। यस धारणाबाट आफूहरू निकै उत्साहित भएको पाण्डेले बताए।

यसैगरी, सरकारले बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने तयारी गरेकोमा सङ्घले स्वागत गरेको छ।‘यसमा निजी क्षेत्रका तर्फबाट गर्नुपर्ने सक्दो सहयोग गर्न हामी तयार छौँ,’ अध्यक्ष पाण्डेले थपे, ‘तर हेटौँडा कपडा उद्योगलाई नयाँ र आधुनिक प्रविधिबाट सञ्चालन गर्न हामीले प्रधानमन्त्रीसमक्ष अनुरोध गरेका छौँ।’

छलफलका क्रममा प्रधानमन्त्री शाहले व्यवसायीहरूलाई समस्या मात्र नभई त्यसको समाधानको खाकासहित आउन आग्रह गरेको सङ्घका महासचिव भीमकुमार गिरीले बताए।

‘प्रधानमन्त्रीज्यूले तपाईंहरू समस्या लिएर आउँदा उत्तर पनि लिएर आउनुस्, उत्तर र योजना भएपछि तत्काल एक्सनमा जान सकिन्छ भन्नुभयो,’ महासचिव गिरीले भने।

प्रधानमन्त्री शाहले देशका सबै क्षेत्रमा गार्मेन्ट उद्योग स्थापना हुनुपर्ने र गाउँघरमा कुहिएर गइरहेका बोटबिरुवाका रेशा (फाइबर) बाट समेत कपडा बनाउन सकिने सम्भावना औँल्याएको गिरीले जानकारी दिए।

प्रधानमन्त्रीले अत्यन्तै आत्मीयता दर्शाउँदै ‘नो प्रेसर, नो टेन्सन’ को वातावरण बनाएर काम गर्ने ढाडस दिएकाले अब साँच्चै देश बन्नेमा आफूहरू आशावादी रहेको महासचिव गिरीको भनाइ छ।