मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार-२०८२’ का लागि उत्कृष्ट १० पुस्तकहरूको सूची (श्रेष्ठ-सूची) सार्वजनिक गरेको छ। मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा सोमबार जारी विज्ञप्ति अनुसार, गुठीलाई प्राप्त कूल २९८ पुस्तकहरू मध्येबाट यी १० कृति छनौट गरिएको हो।
छनौटमा परेका पुस्तकहरूमा केशवराज ज्ञवालीको ‘अज्ञात’, केशव दाहालको ‘इथा’, ललित विष्टको ‘उत्कर्ष’, रोशनकुमार झाको ‘नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’ र वीणा जोशी (राजभण्डारी) को ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ रहेका छन्।
त्यसैगरी, उमा सुवेदीको ‘परिधि’, सीमा आभासको ‘महायुग’, श्रवण मुकारुङको ‘सलह’, डा. नवराज केसीको ‘स्वस्पर्श’ र नदीशको ‘हिउँद’ पनि श्रेष्ठ-सूचीमा पर्न सफल भएका छन्। यी १० मध्ये एक उत्कृष्ट कृतिलाई वर्ष २०८२ को मदन पुरस्कार अर्पण गरिनेछ।
वि.सं. २०१२ सालमा स्थापित मदन पुरस्कार पहिलोपल्ट २०१३ सालमा प्रदान गरिएको थियो। पहिलो पटक गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ र विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ ले यो पुरस्कार प्राप्त गरेका थिए।
गुठीले वि.सं. २०७२ देखि प्राप्त पुस्तकहरू मध्येबाट बढीमा १० वटा उत्कृष्ट कृतिहरूको सूची सार्वजनिक गर्ने परम्परा सुरु गरेको हो। अप्रकाशित सामग्रीहरूको बाहुल्य रहेका पुस्तकहरूलाई छनौटको मुख्य आधार बनाइने गुठीले जनाएको छ। वि.सं. २०७५ सालदेखि मदन पुरस्कारको राशी चार लाख रुपैयाँ रहेको छ।
नेपाली साहित्यको सबैभन्दा प्रतिष्ठित मानिने यो पुरस्कारको अन्तिम विजेताको घोषणा केही समयपछि गरिनेछ।
