कपडाको आकारमा सिलिकनसँग मिसाएर नेपाल भित्र्याइएको ४ किलो २५८ ग्राम तरल कोकेनसहित दुई विदेशी महिला पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कोलम्बियाकी ६२ वर्षीया योनेथ गार्जोन काइसेडोर भारतको मणिपुरकी ३७ वर्षीया रेबेका पुल्ले रहेका छन्।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोका अनुसार हवाई मार्ग हुँदै नेपाल आउने शंकास्पद विदेशी नागरिकमाथि निगरानी गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्।
गत असार ३१ गते कतार एयरवेजको उडान नम्बर QR-646 मार्फत कोलम्बियाबाट दोहा हुँदै काठमाडौं आएकी कोलम्बियाली नागरिक काइसेडोलाई काठमाडौंको ठमेलबाट पक्राउ गरिएको थियो।
उनको साथमा रहेको सुटकेस जाँच गर्दा ‘फल्स बटम’ (नक्कली तह) बनाएर लागुऔषध लुकाइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। ब्ल्याङ्केट, म्याट, ज्याकेट, एप्रोन र घाँटीमा लगाउने सिरानीभित्र सिलिकनसँग मिसाएर तरल कोकेन लुकाइएको थियो।
अनुसन्धानका क्रममा उक्त कोकेन बुझ्न भारतको मणिपुरबाट काठमाडौं आएकी रेबेका पुल्लेलाई पनि साउन ३ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ। हाल दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ।
प्रहरीले उनीहरूको साथबाट सिलिकनसँग मिसाइएको ४ किलो २५८ ग्राम तरल कोकेन, एक थान राहदानी, भारतीय निर्वाचन आयोगको एक थान परिचयपत्र, २०० अमेरिकी डलर, चार थान मोबाइल फोन तथा एउटा सुटकेस बरामद गरेको छ।
ब्यूरोका सह-प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जीवन निरौलाले भने, ‘अन्य मुलुकबाट नेपालमा कोकेन लुकाई ल्याएको अहिलेसम्मको ट्रेन्ड हेर्दा लिक्विड कोकेनलाई सिलिकनसँग मिश्रण गरी कपडाको आकार र साइजमा तयार पारी ल्याएको यो लुकाउने नयाँ विधि भएको देखिन्छ।’