सरकार परिवर्तनको खेल खतरनाक, मध्यावधिको सम्भावना: कोशीको ब्रिफिङ

 संवाददाता    २०८३, ३ श्रावण आईतवार १६:१४     55 जनाले पढ़िसके



Spread the love

नेकपा (एमाले) का कोशी प्रदेशका प्रमुख सचेतक रमेशकुमार बस्नेत प्रदेश सरकार अत्यन्तै उतारचढावको बीचमा चलिरहेको ब्रिफिङ गरेका छन् ।

पार्टी कार्यालय च्यासलमा आयोजित सांसदहरुलाई प्रशिक्षणमा कोशी प्रदेश सरकारबारे रिपोटिङ गर्दै यस्तो बताएका हुन् ।
कोशीमा एमालेका हिक्मतकुमार कार्की मुख्यमन्त्री छन् ।

अध्यक्ष केपी ओलीले मुख्यमन्त्री कार्कीको विकल्प खोज्ने प्रयास गरेको चर्चा चलिरहेको छ । सो कार्यक्रममा अध्यक्ष ओली र महासचिव शंकर पोखरेल पनि सहभागी छन् ।

उनले भने, ‘कोशी प्रदेशमा पाँच पटक मुख्यमन्त्री फेरिनुभएको छ। पाँच पटकमा तीन जना मुख्यमन्त्री रहनुभएको छ । त्यहाँ जम्मा ९३ जना सभासदहरु मध्ये हाल ९२ कायम हुनुभएको छ । एकजनाले प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्दा राजीनामा दिनुभयो ।’

उनले कोशीमा ९२ मध्येमा ४० जना नेकपा एमाले, २९ जना नेपाली काँग्रेस, नेकपाको १७ जना, राष्ट्रिय प्रजातन्त्र पार्टी ४ जना र जनता समाजवादी पार्टी एक जना रहेको बताए। उनले कोशी प्रदेश सरकार संविधानको धारा १६८ को उपधारा ५ अनुसार चलिरहेको बताए ।

उनले थपे, ‘हामी एकदम अन्तिम अवस्थामा पुगेका छौँ। त्यहाँ नेकपा एमाले पहिलो शक्ति छ। राष्ट्रिय प्रजातन्त्र पार्टी सरकार बनाउन चाहँदैन। अन्य पार्टीहरु मिल्दा अत्यन्त जटिल अवस्थामा ४६–४७, ठ्याक्कै ५० प्रतिशत मात्रै पुग्ने अवस्था छ । अहिलेको सरकारमा हेरफेरमा लाग्दा कतै पनि अलिकति चुकियो भने मध्यावधि निर्वाचनमा जानुपर्ने अवस्था छ। यसरी जटिलताका बीचमा हामी अगाडि बढिरहेका छौँ।’

प्रदेश सभाबाट आगामी वर्षकाे बजेट पास भएको बताए । उनले थपे, ‘यसपटकको सरकारमा विकल्प खोज्ने अवस्था आयो भने कोशी प्रदेशमा मध्यावधि निर्वाचन हुने सम्भावना रहेको छ। त्यसकारण गम्भीरतापूर्वक सोचेर अघि बढ्नुपर्छ, हामी मध्यावधि निर्वाचनमा जाँदा उपयुक्त हुन्छ राजनीतिक रुपले भने त्यो निर्णय गर्न पनि हुन्छ, होइन भने त्यसलाई अलिकति फरक ढंगले सोच्नुपर्ने स्थिति छ ।’