नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले कर्णाली क्षेत्रको सडक पूर्वाधारको दयनीय अवस्था र बढ्दो सवारी दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक थापाले कर्णालीका सडकहरू ‘मृत्युमार्ग’ मा परिणत भएको भन्दै राज्यको उदासिनताप्रति आक्रोश व्यक्त गरिन्। सुर्खेतदेखि कालिकोटतर्फ जाँदै गरेको फोर्स गाडी दैलेखस्थित कर्णाली नदीमा दुर्घटना भएको सन्दर्भ उल्लेख गर्दै थापाले दुर्घटना भएको लामो समय बितिसक्दा समेत राज्यका सम्बन्धित निकायबाट घटनाको आधिकारिक विवरण र यकिन तथ्य आउन नसक्नु खेदजनक भएको बताइन्।
‘कर्णालीका सडकमा दिनहुँ रगत बगिरहेको छ, नागरिकहरू ज्यान हत्केलामा राखेर यात्रा गर्न विवश छन्। नियमन गर्ने निकाय छैन, दुर्घटना हुँदा उद्धार गर्ने आवश्यक उपकरण छैनन्,’ उनले प्रश्न गरिन्, ‘यो कस्तो विडम्बना हो?’
उनले सरकारको राजनीतिक नारा र कर्णालीको वास्तविक अवस्थाबीच ठूलो खाडल रहेको टिप्पणी गरिन्। प्रधानमन्त्रीले कर्णालीलाई ‘स्वर्गकी रानी’ र ‘सुइना’ भनेर सम्बोधन गरे पनि व्यवहारमा जनताले अकालमा ज्यान गुमाउनु परिरहेको स्मरण गराइन्।
‘हाम्रा सम्माननीय प्रधानमन्त्रीज्यूले पनि कर्णालीमा गएर त्यसलाई स्वर्गकी रानी कर्णालीकी सुइना भनेर सम्बोधन गर्नुभयो,’ उनले प्रश्न गरिन्, ‘के कर्णालीवासीले स्वर्ग देख्न मरेरै जानुपर्ने हो? के कर्णालीका जनताको निधारमा सधैँ अकालको मृत्यु मात्रै लेखिएको छ?’
कर्णालीमा भइरहेका सडक दुर्घटनालाई केवल संयोग मात्र मान्न तयार नरहेको बताउँदै यसलाई राज्यको चरम लापरवाही र बेवास्ताको परिणाम भएको बताइन्। उनले तत्काल उद्धार कार्यलाई तिब्रता दिन र कर्णाली राजमार्गको स्तरोन्नतिका लागि ठोस योजनासहित कदम चाल्न सरकारसँग माग गरिन्।
‘कर्णालीलाई सुरक्षित सडक चाहिएको छ, मृत्युमार्ग होइन। म यस दुःखद् घटनाको तत्काल उद्धार कार्यलाई तिब्र बनाउन र कर्णाली राजमार्गको स्तर उन्नतिका लागि ठोस कदम चाल्न सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,’ थापाले भनिन्।
त्यस्तै, नेकपा (एमाले) की सांसद यशोदाकुमारी बरालले कर्णाली राजमार्गको जीर्ण अवस्था र त्यहाँ भइरहेका सडक दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराइन्। सांसद बरालले कर्णालीका जनताले सडक अभाव र असुरक्षाका कारण अनाहकमा ज्यान गुमाउनुपरेको भन्दै राज्यको उदासिनताप्रति आपत्ति प्रकट गरिन्।
‘अहिलेसम्म न सास भेटिएको छ, न लास। कर्णालीका जनता सधैँ राज्यको बलिका रूपमा रहनुपर्ने स्थिति कहिलेसम्म रहन्छ?’ उनले भने, ‘राज्यले कर्णालीका जनतालाई नागरिकका रूपमा कहिले स्वीकार गर्छ?’
कर्णालीमा पछिल्लो समय भएको दुर्घटनाको ७२ घण्टा बितिसक्दा पनि बेपत्ताहरूको अवस्था अज्ञात रहेको भन्दै उनले उद्धार कार्य प्रभावकारी नभएको गुनासो गरिन्।
‘प्रधानमन्त्रीज्यूले मेरा सुइना, कर्णालीका सुइना भन्दै फोटोमा रमाइरहँदा त्यहाँका जनताले दैनिक मृत्युसँग जुध्नु परिरहेको छ। हामी सरकारसँग अधिकार खोज्न आएका हौँ, भिख मागेका होइनौँ,’ उनले भनिन्।
उनले कर्णाली राजमार्गलाई ‘मृत्यु मार्ग’ को संज्ञा दिँदै यसलाई सुरक्षित राजमार्गका रूपमा विकास गर्न माग गरिन्। हेलिकप्टरमार्फत प्रभावकारी खोजतलासका लागि आग्रह गर्दा पनि पुरानो प्रविधि र न्युन जनशक्ति परिचालन गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन्।
सांसद बरालले प्रधानमन्त्रीका पुराना प्रतिबद्धता र नाराहरूलाई स्मरण गराउँदै कर्णालीको वास्तविकता र सरकारी प्रचारबाजीमा ठूलो खाडल रहेको टिप्पणी गरिन्। उनले कर्णालीका बासिन्दालाई पनि सुरक्षित रूपमा हिँडडुल गर्न पाउने वातावरण सुनिश्चित गर्न र सडक पूर्वाधारमा ठोस सुधार ल्याउन सरकारसँग माग गरिन्।