लुम्बिनीमा २० प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न

 संवाददाता    २०८३, १५ असार सोमबार ११:३९     11 जनाले पढ़िसके



Spread the love

आज धान दिवस, असार १५ । आज मुरी फलाउन मानो रोप्ने दिन । यस अवसरमा आज किसानहरू धान रोपाइँको चटारोमा खेतखेतमा व्यस्त देखिन्छन् । धान रोपाइँका लागि समयमा वर्षा नहुँदा रोपाइँ ढिलो हुने चिन्तामा रहेका किसानलाई आज बिहानैदेखि परेको वर्षाले खुसी तुल्याएको छ ।

लुम्बिनी प्रदेश, कृषि विकास निर्देशनालयको लुम्बिनी प्रदेशका १२ जिल्लाको तथ्याङ्कअनुसार धान रोपाइँ हुने तीन लाख एक हजार ३ सय ७२ हेक्टर क्षेत्रफलमध्ये हालसम्म ६२ हजार ६ सय ७० दशमलव ८७ हेक्टर क्षेत्रमा मात्र रोपाइँ सकिएको कृषि विकास निर्देशनालयका कृषि प्रचार अधिकृत नवीन गैरेले जानकारी दिए । हाल सम्ममा प्रदेशका १२ जिल्लामा २० दशमलव आठ प्रतिशत मात्र रोपाइँ सकिएको छ । यो तथ्याङ्क गत वर्षको यस अवधिभन्दा झण्डै चार प्रतिशत कमी हो ।

जिल्लागत विवरणअनुसार पाल्पामा सबैभन्दा बढी ४५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । पाल्पामा सात हजार २८७ हेक्टरमध्ये तीन हजार २ सय ७९ दशमलव चार हेक्टर क्षेत्रमा रोपाइँ सकिएको छ । त्यसपछि गुल्मीमा २५ दशमलव ७७ प्रतिशत, रुकुम (पूर्व) मा २५ प्रतिशत, नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा २४ दशमलव पाँच प्रतिशत र बर्दियामा १९ दशमलव ३१ प्रतिशत रोपाइ सम्पन्न भएको छ ।

दाङमा ३६ हजार २ सय हेक्टरमध्ये पाँच हजार ४ सय ३० हेक्टरअर्थात् १५ प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको छ । अर्घाखाँचीमा ११ दशमलव २७ प्रतिशत र रोल्पामा चार दशमलव आठ प्रतिशत रोपाइँ भएको छ ।

रुपन्देहीमा ४३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । त्यहाँ ६३ हजार ५ सय ५० हेक्टरमध्ये २७ हजार ३ सय २६ दशमलव पाँच हेक्टर क्षेत्रमा रोपाइ सकिएको छ । कपिलवस्तुमा १५ दशमलव आठ प्रतिशत तथा प्यूठानमा आठ प्रतिशत रोपाइँ सम्पन्न भएको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै लुम्बिनी प्रदेशको धान उत्पादनमा सबैभन्दा राम्रो मानिने बर्दिया जिल्लामा १९ दशमलव ३१ प्रतिशतअर्थात् नौ हजार ६ सय ८५ हेक्टरमा रोपाइँ सकिएको छ । बर्दियामा ६३ हजार २७ हेक्टर खेतीयोग्य जमिनमध्ये ५० हजार १ सय ५० हेक्टरमा धान रोपाइँ हुने गर्दछ ।

यस्तै यस वर्ष सबैभन्दा कम रोपाइँ बाँके जिल्लामा भएको छ । बाँकेमा ३३ हजार ७ सय ८० हेक्टरमध्ये केवल १ सय ६८ दशमलव नौ हेक्टरअर्थात् शून्य दशमलव पाँच प्रतिशत क्षेत्रमा मात्र धान रोपाइँ सम्पन्न भएको छ । मनसुन सक्रिय हुँदै गएसँगै धान रोपाइँको गति थप तीव्र भएको छ ।