मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ धाराखोल्सास्थित कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकमा पिकअप गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार आइतबार (आज) बिहान ६:३० बजेतिर हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५५९९ नम्बरको खाली योद्धा पिकअप गाडी आफैँ अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको हो।
दुर्घटनामा चालक मकवानपुरकै थाहा नगरपालिका-९ चित्लाङका ४५ वर्षीय मुकुन्द झ्यारी मगर गम्भीर घाइते भएका थिए। उनको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो।
स्थानीय प्रहरी र उद्धार टोलीले उनलाई तत्काल उद्धार गरी पाटन अस्पताल, ललितपुर पठाएकामा उपचारका क्रममा बिहान ८:५५ बजे चिकित्सकले मगरलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
मृतकको शव हाल पाटन अस्पतालमा राखिएको छ। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।