बीबीसी फारसी सेवाका अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले आइतबार बिहान कुवेतको अली अल-सलेम एयर बेस र बहराइनमा रहेको अमेरिकाको पाँचौँ फ्लिट मुख्यालयसँग सम्बन्धित आठ स्थानलाई निसाना बनाइएको बताएको छ।
आईआरजीसीका अनुसार त्यहाँ ब्यालिस्टिक मिसाइल र ड्रोन प्रहार गरिएको हो।
विज्ञप्तिमा भनिएको छ, ‘आक्रमण हालैका अमेरिकी हमलाको बदलामा हो।’
अमेरिकी अधिकारीहरूले अहिलेसम्म कुनै क्षति वा हताहतबारे केही बताएका छैनन्।
आईआरजीसीले अमेरिकाले पहिले आईआरजीसी नौसेना र एक जहाज आमनेसामने भएको बहानामा इरानका पाँच तटीय चौकीमा आक्रमण गरेको उल्लेख गरेको छ।
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘इस्लामाबाद सम्झौताका आधारमा हर्मुज स्ट्रेटमा ट्राफिक नियन्त्रण गर्ने जिम्मेवारी इरानको हो र आईआरजीसीले अब उल्लंघनकारी जहाजविरुद्ध थप कडा कारबाही गर्नेछ।’
आईआरजीसीले युद्धविरामको थप उल्लंघनले इस्लामाबाद सम्झौताको प्रगतिलाई रोक्न सक्ने चेतावनी पनि दिएको छ।
यसैबिच अमेरिकी सेनाले आफ्ना लडाकु विमानले हर्मुज स्ट्रेटनजिकै इरानका लगभग १० सैन्य अड्डालाई निसाना बनाएको दाबी गरेको छ।
अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले एक्समा लेखेको छ, ‘इरानले एम/टी किकुमा गरेको ड्रोन आक्रमणको जवाफमा अमेरिकी नौसेना र वायुसेनाका लडाकु विमानले शनिबार राति हर्मुज स्ट्रेट र आसपास इरानका १० सैन्य अड्डामा प्रहार गरेका छन्।’
सेन्टकमले एउटा भिडिओ पनि जारी गरेको छ, जसमा रातको अँध्यारोमा विस्फोट भएको देखिन्छ।
इरानले अमेरिकाको पछिल्लो आक्रमणबारे अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।
यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम उल्लंघन जारी रह्यो भने इरानको अस्तित्व नै समाप्त हुने चेतावनी दिएका छन्।
उनले ट्रुथ सोसलमा लेखेका छन्, ‘युद्धविराम सम्झौताको पुन: उल्लंघन गरेपछि अमेरिकी विमानले इरानका क्षेप्यास्त्र/ड्रोन भण्डारण सुविधा र रडार प्रतिष्ठानमा प्रहार गरेका छन्।’
उनले अगाडि लेखेका छन्, ‘के देखिन्छ भने उनीहरू (इरान) ले कहिल्यै पाठ सिक्ने छैनन्। त्यस्तो समय आउन सक्छ- सैन्य बल प्रयोग गरेर हामीले सफलतापूर्वक सुरु गरेको कार्य पूरा गर्न बाध्य हुनेछौँ।’
‘यदि त्यसो भयो भने इरानको इस्लामिक गणतन्त्र अस्तित्वमा रहनेछैन।’
हालै मात्र अमेरिका र इरानबिच युद्ध अन्त्यका लागि शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो।
यो लागु गर्ने विषयमा अमेरिका र इरानबिच यही असार ७ गते स्विट्जरल्यान्डमा पहिलो चरण वार्ता पनि भएको थियो।
तर फेरि अमेरिका र इरानबिच लडाइँ सुरु भएको हो।