भरतपुर महानगरपालिकाकाले आइतबार हुने राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनस्थल निर्माण तथा सफाइमा नगरप्रहरी खटाएपछि कार्यपालिका बैठकमा प्रश्न उठेको छ । प्रमुख प्रशासकीय अधिकृतले यस विषयमा माफी मागेका छन् ।
नगरप्रहरी परिचालन प्रमुख प्रशासकीय अधिकृतको अधिकार क्षेत्रभित्र पर्छ । आज बिहानै प्रमुख प्रशासकीय अधिकृत बीरेन्द्रदेव भारतीले नगरप्रहरीलाई रास्वापाको महाधिवेशन उद्घाटनस्थलको सफाइ तथा टेन्ट निर्माणमा लाग्न निर्देशन दिएका थिए ।
भरतपुर महानगरपालिकाका नगरप्रहरी प्रमुख डिएसपी कृष्णहरी ढकालका अनुसार नगरप्रहरी ९ बजेपछि महाधिवेशनस्थल गेष्ट हाउसको चौरमा पुगेको थियो । नगरप्रहरीले महाधिवेशन स्थलमा टेन्ट निर्माण गर्न, सरसफाइमा सहयोग गरेको छ ।
सत्तारुढ दलको महाधिवेशनस्थलमा नगर प्रहरी खटाइएको विषयमा कार्यपालिकामा प्रश्न उठेको हो । महानगरका प्रवक्ता तथा वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनालका अनुसार महानगरका जनप्रतिनिधिहरुले कुन क्षेत्राधिकार भित्र रहेर राजनीतिक दलको काममा सहयोग गर्न नगरप्रहरी प्रयोग गरिएको भनेर प्रश्न उठाएका थिए । प्रशासकीय अधिकृतले पठाउन नहुने भन्नेबारे आफू सचेत नभएको भनेर माफी मागेको खनालले बताएका छन् ।
यद्यपि प्रमुख प्रशासकीय अधिकृत भारतीले गरेको कुराकानीमा महानगरपालिकाभित्र जहाँ पनि गएर नगरप्रहरीले काम गर्नसक्ने बताए । आफूले निर्देशन दिएको भने उनले स्वीकार गरेनन् । आफ्नो नियमित काम अनुसार पालिका भित्रको जुन स्थानमा पनि गएर नगरप्रहरीले सफाइ तथा व्यवस्थापनको काम गर्न सक्ने उनको भनाइ छ ।
नगरप्रहरी प्रमुख डिएसपी ढकालका अनुसार प्रमुख प्रशासकीय अधिकृतकै निर्देशनमा उनीहरु सरसफाइको लागि गएका हुन् । भरतपुर महानगरका वातावरणीय शाखाका कर्मचारीहरु पनि डोजर र फोहोर संकलन गर्ने ट्याक्टरसहित गेष्ट हाउसको चौरमा गएका थिए । उनीहरुले महानगरपालिकाकै फोहोर संकलनको गाडी लगेर चौर सफा गरिदिने र नगरप्रहरीले टेन्ट निर्माणमा सहयोग गरिदिए ।
नगरप्रहरी प्रमुख डिएसपी ढकालले नगरप्रहरी फिर्ता बोलाइएको र भोलिदेखि नपठाउने बताएका छन् । यता राष्ट्रिय स्वतन्त्र पार्टीले भने महानगरबाट नगरप्रहरीका लागि औपचारिक अनुरोध नगरिएको स्पष्ट पारेको छ ।
रास्वपा केन्द्रीय सदस्य राजन गौतमले नगरप्रहरी गेष्ट हाउसको चौरमा गएर सफाइमा सघाएको विषयमा आफूलाई जानकारी नभएको बताए । जिल्ला अध्यक्ष इन्जिनियर मिनीमहादेव खनालले पनि पार्टीको तर्फबाट सफाइका लागि महानगरलाई कुनै अनुरोध नगरिएको दाबी गरे ।