पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आफ्नो ‘प्रोफाइल’मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री भनेर लेखेका छन्।
रास्वपामा दुई वटा मात्रै महामन्त्री छन्। रास्वपाले दुई वर्षअघि मुकुल ढकाललाई महामन्त्रीबाट निकालेपछि त्यतिबेलाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जिम्मेवारी सम्हालेका थिए। एक वर्षपछि २०८२ असार ७ मा रास्वपाले बुर्लाकोटीलाई महामन्त्री बनाएको थियो।

गत फागुन २१ को प्रतिनिधि सभाको निर्वाचनअघि रास्वपा सभापति रवि लामिछानेले काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर वालेन्द्र शाहसँग एकताको सहमति गरेका थिए। चुनावपछि रास्वपाले शाह पक्षबाट आएका भूपदेव शाहलाई महामन्त्री नियुक्त गरेको थियो।
गत वैशाख ७ मा शाह महामन्त्री नियुक्त भएपछि अहिले रास्वपामा दुई वटा महामन्त्री छन्। तर, पूर्वाधारमन्त्री लम्सालले भने मन्त्रालयको वेबसाइटमै आफूलाई रास्वपाको महामन्त्री भनेर राखेका छन्।

पूर्वाधार मन्त्रालयको वेबसाइटमा मन्त्री लम्सालको ‘प्रोफाइल’मा लेखिएको छ, ‘पूर्वाधार विकासमन्त्री माननीय सुनिल लम्साल राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य हुनुहुन्छ। उहाँले सिभिल इन्जिनियरिङमा स्नातक र स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर अध्ययन गर्नु भएको छ भने फोहर व्यवस्थापनमा पीएचडी अध्ययनरत हुनुहुन्छ।’
रास्वपाको केन्द्रीय समितिको सूचीमा भने उनलाई केन्द्रीय सदस्यमा राखिएको छ। उनी रास्वपाको केन्द्रीय समितिमा ६४औँ वरीयताका केन्द्रीय सदस्यमा रहेका छन्।