वनस्पति वैज्ञानिक डा. संगीता धौवडेलले क्यानडा सरकारबाट ‘गोल्ड हार्भेष्ट अर्वाड फर इनोभेसन २०२६’ प्राप्त गरेकी छिन्। उनी क्यानडामा रहेर भटमास, केराउ, मसुरो र सिमीजस्ता कोसेबाली (लेगुम) बिउको गुणस्तरसम्बन्धी अनुसन्धानमा काम गर्दै आइरहेकी छिन्।
वेष्टर्न युनिभर्सिटीको प्रोफेसर समेत रहेकी उनी एग्रिकल्चर एन्ड एग्रोफुड क्यानडाको लण्डन अनुसन्धान र विकास केन्द्रको अनुसन्धान वैज्ञानिक हुन्।
भटमासको बिउको भाले प्रजननमा एउटा ‘भेजिटेटिभ न्युक्लियस’ र दुई वटा शुक्रकिट ‘न्युक्लियस’ हुने गर्छन्। यसले हिँडडुल गर्न नसक्ने शुक्रकिटलाई परागसेचनका लागि डिम्बसम्म पुर्याउने काम गर्छ। भाले प्रजनन एकाईको बनावट र त्यसको चालबारे अझै धेरै कुरा रहस्यमै छन्।

डा. संगीताको अनुसन्धानले परागकणको नलीभित्र प्रजनन एकाईको बनावट र सही स्थान निर्धारणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पत्ता लगाएको हो। हाल क्यानडाको अन्टारियोमा बसोबास गर्ने उनी चार दशकदेखि कोशेबाली बिउको अनुसन्धान गर्दै आएकी छिन्।
‘मेरो अनुसन्धानको रुचि भटमास, केराउ, मुसुरो र सिमीजस्ता कोसेबालीमा बिउको गुणस्तर र रक्षा सम्बन्धी विशेषताहरुमा केन्द्रित छ’, डा. धौवडेलले लिंकडिन अकाउन्टमा आफ्नोबारे लेखेकी छिन्, ‘मेरो प्रयोगशालामा हामी ती विशेषताहरुमा समावेश ‘स्पेसलाइज्ड मेटाबोलाइट्स’को संश्लेषणमा अन्तर्निहित ‘मोलिक्युलर’ उतारचढाव बुझ्ने कोसिस गर्छौं। कोसेबालीहरुमा यी लाभदायक कणलाई नियन्त्रण गर्ने तत्वहरु पहिचान गर्ने प्रयास गछौं।’
उनको अनुसन्धानले कोशे वनस्पतिमा प्रजननदेखि तिनको क्षमता विकासमा असर पार्ने क्षेत्रहरुबारे नयाँ तथ्य पत्ता लगाएको थियो। यो बाहेक कोशे बिरुवाको प्रतिरक्षा क्षमता सम्बन्धमा पनि नयाँ तथ्यहरु उजागर गरेको थियो। यसअघिका अनुसन्धानहरुले भटमासका बिरुवामा प्रजनन क्षमता कम हुने देखाएका थिए तर यसको कारण पत्ता लगाएका थिएनन्।
उनीसहित १३ जना वैज्ञानिकको संयुक्त अनुसन्धानले भटमासको बिरुवामा प्रोटिनको मात्रा थपघट हुने प्रक्रियाबारे विशेष खोज गरेको थियो।
२०२६ जुनमा रिसर्चगेटमा प्रकाशित लेखअनुसार उनीहरुले दुईवटा बिरुवाहरुमा परीक्षण गरी हेरेका थिए। एउटा स्वस्थ बिरुवासँग क्रस गराएर हेर्दा त्यसपछि उम्रिने बिरुवाको परागकणमै दोष भेटिएको थियो। यो तुलनात्मक अनुसन्धान गर्न उनीहरूले अर्को एउटा छुट्टै बिरुवा नै विकास गरेका थिए। यसबाट पुष्टि भएको थियो कि बिउको प्रोटिन परागकण विकास भइरहँदा आमा कोषबाट छोरी कोषमा सर्छ।
‘गोल्ड हार्भेष्ट अवार्ड फर इनोभेसन’ कृषि विज्ञान, कृषि खाद्यान्न इनोभेसनको क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने विशिष्ट व्यक्तिलाई क्यानडाको संघीय सरकारले प्रदान गर्ने प्रतिष्ठित सम्मान हो। वैज्ञानिक डा.धौवडेलले क्यानडा सरकारको प्रतिष्ठित अवार्ड पाउँदा क्यानडाको नेपाली समुदायले उल्लास मनाएको छ। नेपाली मूलका नयाँ पुस्तका अनुसन्धानकर्तालाई उत्सही पारेको छ।