रोल्पा दुर्घटना: खोँचबाट शव निकाल्न २१ घण्टा, पीडितको पहिचानमा ढिलाइ

 संवाददाता    २०८३, १८ बैशाख शुक्रबार १३:०९     12 जनाले पढ़िसके



Spread the love

रोल्पाको जलजलामा बिहीबार दिउँसो भएको जिप दुर्घटनामा ज्यान गुमाउने २० जनाको शव भिरबाट सडकसम्म ल्याउनै झन्डै २१ घण्टा लागेको छ।

जिप खसेको स्थान अत्यन्त अप्ठेरो ठाउँमा पर्छ। सुरक्षाकर्मीले पहिले पैदल बाटो खोलेपछि डोरीको सहायताले केहीबेरअघि मात्रै सबै शव माथि सडकमा निकालेका छन्।

विकट भूगोल, भिरालो र खोंच क्षेत्र, कमजोर सञ्चार पहुँच जस्ता कारणले उद्धार कार्यमा ढिलाइ भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए।

उनका अनुसार दुर्घटनापछि सबैभन्दा नजिकको प्रहरी युनिट २० मिनेटमै घटनास्थलमा पुगेको थियो। तर जिप सडकबाट करिब ८ सय मिटर तल गहिरो खोंचमा खसेकाले शव निकालेर माथि ल्याउन अत्यन्त कठिन भएको थियो। कठिनाइकै कारण गएराति उद्धार हुन सकेको थिएन।

आज बिहान उज्यालो हुनेबित्तिकै उद्धार टोली डोरीको सहायताले बाटो बनाउँदै तल झरेका थिए। ‘एक–एक शव बोकेर माथि ल्याउनुपरेको कारण शुक्रबार दिउँसो झण्डै १२ बजेमात्र उद्धार कार्य सकिएको छ,’ प्रहरी निरीक्षक नेपालीले भने।

दुर्घटनास्थलसम्म पुग्ने सडकसमेत सहज छैन। एम्बुलेन्स र ठूला उद्धारका सवारी तत्काल पुग्न नसक्ने अवस्था तथा मोबाइल नेटवर्क कमजोर भएकाले प्रारम्भिक समन्वयमै समस्या परेको प्रहरीको भनाई छ।

घटनास्थल आसपास मोवाइल फोनले काम नगर्दा सूचना आदानप्रदान र थप जनशक्ति जुट्नसमेत समय लागेको थियो।

बिहीबार दिउँसो भएको दुर्घटनामा चालक सहित २० जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका थिए।

रुकुमपूर्वको सिस्ने गाउँपालिका ५ टाकुरा बस्ने वर्ष ३२ को समीर कामीलाई रुकुम पूर्व जिल्ला अस्पतालमा उपचारपछि बिहीबार राति डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

चालक बेदबहादुर बिक टाकुरा निवासी हुन्। उनको अवस्था खुलेको छैन।

मृतकमध्ये ४ बालक, ४ पुरुष र १२ महिला रहेका पुष्टि भए पनि उनीहरू कसैको पनि पहिचान खुल्न सकेको छैन।

रुकुमकोटबाट जलजलातर्फ एकै समयमा २–३ वटा गाडी गएका थिए। कुन गाडीमा को–को चढेका थिए भन्ने स्पष्ट नहुँदा सनाखतमा कठिनाइ भएको प्रहरीले जनाएको छ।

खोँचबाट निकालिएका शव पोस्टमार्टमका लागि प्रहरीले अस्पताल लगेको छ। पोस्टमार्टमपछि शव आफन्तलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ।