अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एशिया हेर्ने विशेष दूत सर्जियो गोर आज साँझ काठमाडौं आइपुग्दै छन् । नयाँ सरकार बनेपश्चात अमेरिकाबाट हुन लागेको यो दोस्रो उच्चस्तरीय भ्रमण हो ।
यसअघि अमेरिकाका दक्षिण तथा मध्यएसिया मामिला हेर्ने सहायक विदेशमन्त्री समिर पल कपुर ७ वैशाखमा नेपाल आएका थिए । त्यसको १० दिनपछि नै ट्रम्पका दूतको भ्रमणले नेपालसँगको सम्बन्धलाई अमेरिकाले प्राथमिकतामा राखेको चर्चा कुटनीतिक वृत्तमा चलेको छ । दुवै भ्रमणहरू आर्थिक सहकार्य अभिवृद्धिसँग सम्वन्धित छन् ।
हाल भारतका लागि अमेरिकी राजदूतसमेत रहेका गोर ट्रम्पनिकट कुटनीतिज्ञका रूपमा चिनिन्छन् । त्यसैले उनी शक्तिशाली छन् भन्ने मानिन्छ । गोरले नेपालमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाललाई भेट्ने तय भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहसँग भने भेटवार्ता तय भएको छैन ।
स्रोतका अनुसार प्रधानमन्त्रीसँग भेट्न गोरले विभिन्न माध्यमबाट पहल गरिरहेका छन् । तर, प्रधानमन्त्रीको आन्तरिक कार्यव्यस्तताका कारण समय मिलाउन मुस्किल रहेको जवाफ दिइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले भन्यो, ‘कुनै विषयमा प्रधानमन्त्री तहबाटै संवाद आवश्यक भयो भने भेट्ने हो । नत्र विदेशी दूतहरुसँग यत्तिकै भेटेर समय खपथ गर्ने पक्षमा प्रधानमन्त्री हुनुहुन्न ।’
यसअघि आएका अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपुरले पनि प्रधानमन्त्री शाहलाई भेट्न समय पाएका थिएनन् । उनी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल र रास्वपा सभापति रवि लामिछानेसँग भेटेर फर्किएका थिए ।
विदेशबाट मामूली व्यक्ति आउँदा पनि सीधै बालुवाटार पुगेर प्रधानमन्त्री भेट्ने भद्दा प्रचलन नयाँ सरकार आएपछि तोडिएको छ । प्रधानमन्त्री बालेनले कुटनीतिक भेटघाटको जिम्मा परराष्ट्रमन्त्रीलाई दिएर आफू शासकीय सुधारका काममा केन्द्रित भइरहेका छन् ।