सिन्धुपाल्चोकको मेलम्ची गाउँपालिका–११ स्थित इन्द्रावती खोलामा नुहाउने क्रममा बगेका दुई किशोरीमध्ये एक जनाको शव फेला परेको छ।
अर्की किशोरी अझै बेपत्ता छिन्।
सोमबार (हिजो) अपराह्न करिब ४ः२० तिरको समयमा खोलामा नुहाउँदै गरेका दुई किशोरीलाई अचानक खोलाले बगाएको हो।
बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका अनुसार खोलाले बगाएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मेलम्चीबाट प्रहरी निरीक्षक योगेश खरेलको कमाण्डमा ७ जनाको टोली तत्काल खटिएको थियो।
खोज तथा उद्धारका क्रममा घटनास्थलबाट करिब १ किलोमिटर तल खोलाको किनारमा मेलम्ची–९ निवासी कुमार गिरीकी १८ वर्षीया छोरी निर्जला गिरी मृत अवस्थामा फेला परेकी हुन्।
उनको शव आवश्यक मुचुल्का प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि मेलम्ची नगर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
यस्तै, पाँचपोखरी थाङपाल गाउँपालिका–६ निवासी निर्मल जोतीकी १४ वर्षीया छोरी अन्जिता जोती भने अझै फेला परेकी छैनन्।
उनको खोजी कार्य निरन्तर जारी रहेको प्रहरीले जनाएको छ।
घटनाका क्रममा किशोरीहरूलाई बचाउने प्रयास गर्ने चितवन घर भई हाल काठमाडौँ तार्केश्वर–४ बस्दै आएका ४९ वर्षीय वीरबहादुर राई पनि खोलामा डुबेर बिरामी भएका छन्। उनलाई मेलम्ची नगर अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ।
मृत भेटिएकी निर्जला मामाको छोरी हुन् भने बेपत्ता अन्जिता फूपूको छोरी हुन्।
निर्जलाका काका रिमलाल गिरीका अनुसार निर्जला सानैदेखि आफ्नो फूपूसँगै बस्दै आएकी थिइन्। उनी ३ वर्षको हुँदा आमाको मृत्यु भएको र केही वर्षपछि बावु पनि बेपत्ता भएपछि फूपूले स्याहार्दै आएकी थिइन्।
काठमाडौँमा नै बसेर पढ्दै आएका उनीहरु नागरिकता बनाउनको लागि सिन्धुपाल्चोक गएका थिए।
अन्जिता र निर्जला दुवैजनाको नागरिकता बनाउनका लागि अन्जिताका बुवाले गाउँ ल्याएका थिए।
‘उनीहरु हिजो आएका रहेछन्, हिजो नै अरु कागजपत्रहरु मिलाउने र सबै काम सकिएपछि मलाई बोलाउने भन्ने कुरा रहेछ, निर्जलाका काका रिमलालले भने, ‘उनी मेरी आफ्नै भतिजी हो। उनी ३ वर्षको हुँदा भाउजूको मृत्यु भयो। दाई हराइरहनु भएको छ। नागरिकता बन्ने बेलामा बोलाउने भनेर होटलमै बसेका रहेछन्। दिउँसो गर्मी भयो भन्दै खोलामा नुहाउन जाँदा यस्तो घटना घट्यो।’
बेपत्ता किशोरीको खोजीका लागि मंगलबार बिहानदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली घटनास्थलमा परिचालित भई खोज तथा उद्धार कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।