अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिज्नी र एबीसीसँग प्रस्तोता तथा हास्यकलाकार जिमी किमेललाई तुरुन्त जागिरबाट हटाउन माग गरेका छन्।
यसको कारण लेट–नाइट प्रस्तोताले आफ्नो कार्यक्रममा प्रथम महिला मेलानिया ट्रम्पबारे गरेको मजाक हो, जसमा उनले मेलानियालाई ‘प्रतीक्षारत विधवा’ भनेका थिए।
डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘म सामान्यतया जिमी किमेलका कुरा ध्यान दिँदिनँ, तर यो टिप्पणी हद नाघेको छ। जिमी किमेललाई तुरुन्त डिज्नी र एबीसीबाट हटाइनुपर्छ।’
मेलानिया ट्रम्पले पनि जिमी किमेलको आलोचना गरेकी छन्। प्रथम महिलाले किमेलका भनाइलाई ‘घृणापूर्ण र हिंसात्मक’ बताउँदै उनको च्यानल एबीसीसँग यस व्यवहारबारे कारबाहीको माग गरेकी छन्।
मेलानिया ट्रम्पले एक्समा लेखेकी छन्, ‘जिमीजस्ता मानिसलाई हरेक साँझ हाम्रो घरभित्र पस्दै घृणा फैलाउने मौका दिनु हुँदैन। उनका शब्द विषालु छन्।’
प्रस्तोता जिमी किमेलको यो टिप्पणी ह्वाइट हाउस संवाददाता भोज हुनुभन्दा केही दिनअघि आएको हो।