अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले जलमार्ग होर्मुज स्ट्रेटलाई ‘आर्थिक आणविक हतियार’को संज्ञा दिँदै इरानले यसलाई विश्वविरुद्ध प्रयोग गर्न खोजिरहेको आरोप लगाएका छन्।
अमेरिकी टीभी च्यानल फक्स न्युजसँगको अन्तर्वार्तामा उनले भनेका छन्, ‘इरान गर्वका साथ आफूले विश्वको २० देखि २५ प्रतिशत ऊर्जा रोक्न सक्ने बताइरहेको छ। कल्पना गर्नुहोस्- इरानले आणविक हतियार पायो भने उसले सम्पूर्ण क्षेत्रलाई बन्धक बनाउन सक्छ।’
मार्को रुबियोले जारी युद्धबाट पक्कै पनि विश्वले इरानले निम्त्याउन सक्ने खतरा बुझ्यो होला भन्ने लागेको पनि बताएका छन्।
उनका अनुसार, ‘इरानले आणविक हतियारबाट जे हासिल गर्न चाहन्छ, त्यो अहिले तेलबाट हासिल गरिरहेको छ।’
यस क्रममा मार्को रुबियोले अब इरानसँग पहिलेभन्दा आधा मात्र मिसाइल बाँकी रहेको दाबी पनि गरेका छन्।
उनले अगाडि भनेका छन्, ‘कुनै कारखाना बाँकी छैनन् र यसको नौसेना नष्ट भएको छ।’
इरानले हालै युद्ध अन्त्य गर्न अमेरिकालाई प्रस्ताव पठाएको छ। तर त्यसप्रति राष्ट्रपति ट्रम्प असन्तुष्ट रहेको एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।