इरान युद्धको विरोध गर्दै प्रदर्शनमा उत्रिएका पूर्व अमेरिकी सैनिक र तीनका परिवार पक्राउ परेका छन् । वासिङ्टन डीसीस्थित संसद भवनमा इरानविरुद्धको युद्धको विरोधमा गरिएको प्रदर्शनका क्रममा ६० भन्दा बढी पूर्वसैनिक र उनका परिवारका सदस्य पक्राउ परेका हुन् ।
द हिलका अनुसार विभिन्न पूर्वसैनिक समूहद्वारा आयोजित प्रदर्शनका क्रममा क्यानन हाउस अफिस बिल्डिङबाट कम्तीमा ६२ जनालाई नियन्त्रणमा लिइएको हो ।
प्रदर्शनकारीहरू क्यानन भवनको रोटुन्डामा भेला भएर अमेरिकी हमलामा ज्यान गुमाएका इरानीहरूको सम्झनामा रातो ट्युलिप फूल बोकेका थिए । उनीहरूले ‘इरानविरुद्धको युद्ध अन्त्य गर’ लेखिएका ब्यानरसमेत प्रदर्शन गरेका थिए ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा प्रदर्शनकारीहरूले अहिलेसम्मको द्वन्द्वमा ज्यान गुमाएका १३ अमेरिकी सैनिकको सम्मानमा झण्डा झुकाउने प्रतीकात्मक कार्यक्रम गरेका र युद्धविरोधी नाराबाजी गरेका देखिन्छ ।
क्यापिटोल प्रहरीले प्रदर्शनकारीहरूलाई प्लास्टिकको डोरी (जिप–टाइ) लगाएर नियन्त्रणमा लिँदै घटनास्थलबाट हटाएको द हिलले जनाएको छ ।