काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले शिक्षक आन्दोलनप्रति शंका व्यक्त गर्दै त्यसलाई सत्ताको खेलसँग जोडेका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले शिक्षकहरुको आन्दोलन सरकार ढाल्ने रणनीतिको रूपमा प्रयोग भइरहेको दाबी गरेका हुन् ।
शिक्षक जस्ता बौद्धिक वर्गको सामुदायिक र पेसागत आन्दोलनलाई राजनीतिक अस्त्र बनाउने कोसिस भइरहेको उल्लेख गर्दै उनले सरकारविरुद्ध आन्दोलनलाई प्रोत्साहन गर्ने प्रयास रोक्नुपर्ने बताए ।
“आन्दोलनको नाममा सत्ता परिवर्तन र प्रधानमन्त्री बन्ने असफल प्रयत्नहरू भइरहेका छन्,“ गैरेले भने, “यो प्रवृत्ति तत्काल बन्द हुनुपर्छ।” उनले छलफलमा एक कुरा गर्नु र आन्दोलन स्थलमा गएर अर्कै कुरा गर्नु समस्याको समाधान नभएको बताए ।
गैरेले आन्दोलनलाई उकास्ने कार्य रोकिए मात्र सार्वजनिक महत्वको प्रस्तावको औचित्य रहने धारणा राखे । गैरेको भनाइले संसदमा शिक्षक आन्दोलनमाथि चर्को बहस चुलिएको छ ।