नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत विराटनगर महानगरपालिका कार्यसमितिको सभापति पदमा कृष्णबहादुर कार्की भारी मतान्तरसहित निर्वाचित भएका छन्।
बिहीबार सम्पन्न निर्वाचनको सार्वजनिक मत परिणाम अनुसार कार्कीले ६४६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी केशव गिरीले १२६ मत मात्र प्राप्त गरेपछि कार्की ५२० को फराकिलो मतान्तरले सभापतिमा चुनिएका हुन्।
निर्वाचन अधिकृत विकास थापाले कुल ८९८ मतदाता रहेको महानगर समितिमा ७९७ मत खसेको बताए। बिहीबार बिहानैदेखि सुरु भएको मतदान प्रक्रियापछि लगत्तै मतगणना गरिएको थियो।
यसैगरी उपसभापति (महिला)पदमा श्रुती शर्मा निर्वाचित भएकी छन्। शर्माले ४९५ मत प्राप्त गरी जित हासिल गर्दा उनकी प्रतिस्पर्धी कृष्णाकुमारी साहले २२९ मत ल्याइन्।
जिल्ला कार्यसमिति सदस्यतर्फ महानगरबाट दुई महिला कोटामा सावित्रा पोखरेल र उमा घिमिरे विजयी भएका छन्। पोखरेलले ४३२ र घिमिरेले ३८१ मत पाए भने उनीहरूका प्रतिस्पर्धी कमला कँडेलले ३०४ मत प्राप्त गरिन्।
यस्तै खुलातर्फको जिल्ला कार्यसमिति सदस्य पदमा ज्ञानेश्वर नेपाल, सुमन प्रसाईं र सुरेन्द्र भट्टराई (सुगल)निर्वाचित भएका छन्। नेपालले २८८, प्रसाईंले २०५ र भट्टराईले २०४ मत प्राप्त गर्दै सफलता हात पारेका हुन्। उक्त पदका अन्य प्रतिस्पर्धीहरू सुजन दाहाल, मुरारीप्रसाद धिताल र आदित्य तुलाधर लगायत अन्य उमेदवारहरू भने पराजित भएका छन्।