भूकम्पको एक दशक : यसरी सम्झन्छन् बारपाकका बासिन्दा

 संवाददाता    २०८२, १२ बैशाख शुक्रबार १३:०८     86 जनाले पढ़िसके



Spread the love

गोरखाको बारपाककी ६२ वर्षीया धनमाया गुरुङलाई वैशाख १२ कहिले पनि नआओस् जस्तो लाग्छ । बारपाकलाई केन्द्रविन्दु बनाएर १० वर्षअघि आजकै दिन गएको भूकम्पमा उहाँलाई आफ्नो सात वर्षीया भदैनी गुमाएको कुराले सधैँ पिरोल्छ । गहभरि आँसु पारेर धनमाया भन्नुहुन्छ, ‘न्यास्रो लागेर माइतीबाट भदैनी घर ल्याएको थिएँ । त्यही दिन भूकम्प आउनुपरेको । आँगनमा खेलिरहेकी भदैनी घर भत्किएर लग्यो । भदैनी भूकम्पमा पर्नुको दोषी म आफैँ हो जस्तो लाग्छ ।’

धनमाया जस्तै भूकम्पमा आफन्त गुमाउने बारपाकका बासिन्दाको पीडा उस्तै छ । धेरैले परिवारका सदस्य गुमाउनुपर्‍याे भने कति घाइते भएर जीवनभर अशक्त बन्नुपरेको छ । ३४ वर्षीया डोलमाया घलेले पनि त्यस दिनलाई बिर्सन सक्नुभएको छैन । ‘आकाश गर्जदा अझैँ पनि डर लाग्छ । गाउँमा ठूल्ठूलो गाडी आउँदा पनि भूकम्प नै आएजस्तो लाग्छ । मुटु नै चिसो बनाउँछ’, उहाँ भन्नुहुन्छ ।

भूकम्पले बारपाकीहरूको मानसिकतामा ठूलो धक्का पुगेको छ । वैशाख १२ पछि गएका पटक पटकका परकम्प र पछिल्लो समय देशका विभिन्न ठाउँमा गएका भूकम्पका कारण ७७ वर्षीया प्याली घलेलाई फेरि पनि पहिलेकै जस्तो ठूलै भूकम्पले आउने हो कि भन्ने पिरले सधैँजसो सताउँछ । ठूलो जनधनको क्षति गर्नेगरी वैशाख १२ गते बारपाक केन्द्रविन्दु बनाएर भूकम्प गएको १० वर्ष बितिसकेको छ ।

स्थानीय ५५ वर्षीया कमला गुरुङले २०७२ वैशाख १२ गते सम्झँदै भन्नुहुन्छ, ‘हामी त बारीमा काम गर्दै थियौँ । एक्कासी जमिन हल्लियो, एकाएक घरहरू भत्किन थाले । गाउँ पूरै धुलोको मुस्लोले ढाकियो ।’ भूकम्पका कारण आफूहरूको मानसिकतामा ठूलो चोट पुगेको गुरुङ बताउनुहुन्छ । ‘अहिले त नयाँ घर पनि बनाइसकेँ, उहाँले भन्नुभयो, तर, त्यो दिन सम्झँदा यो अवस्थासम्म आइपुग्छु जस्तो लागेको थिएन ।’

वैशाख १२ को भूकम्पले गोरखालगायत विभिन्न जिल्लामा ठूलो क्षति पुर्‍याएको थियो । २०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा बारपाक केन्द्रविन्दु बनाएर गएको विनाशकारी भूकम्पमा परेर बारपाकमा मात्र ७२ जनाले ज्यान गुमाए । झन्डै एक हजार पाँच सय निजी घरमा क्षति पुगेको थियो । भूकम्पको केन्द्रविन्दु रहेको बारपाक अहिले पर्यटकीय गन्तव्यका रूपमा विकास पनि भएको छ ।

भूकम्पले बारपाकको स्वरूप नै परिवर्तन गरेको अर्का स्थानीय जीतबहादुर घले बताउनुहुन्छ । ‘भूकम्पले विनाश त गर्‍याे तर धेरै सकारात्मक परिवर्तन पनि ल्याएको छ’, उहाँले भन्नुभयो, ‘बारपाक भूकम्पको केन्द्रविन्दु भएकै कारण यहाँ सबैको नजर पर्‍याे । हामीले विकास आयोजना माग्ने आधार पनि पायौँ ।’ भूकम्पपछि नै बारपाकमा सडक, खानेपानी, बिजुलीलगायत पूर्वाधारहरू तीव्र रूपमा विकास भएको उहाँको भनाइ छ ।

एक दशकको अवधिमा बारपाकमा निजी घर पुनर्निर्माण भएका छन् । विनाशकारी भूकम्पमा ज्यान गुमाउनेहरूको स्मरणमा भूकम्प गएको मिति र समयसमेत उल्लेख गरेर स्मृति स्तम्भ निर्माण भएको छ । पुनर्निर्माण गर्दा विगतमा परम्परागत ढुङ्गाको छानो र माटोले बनेको घरको मौलिकताको सट्टा इँटा र सिमेन्टबाट आधुनिक पक्की घरहरू बनेका छन्