बाराको फेटा गाउँपालिकामा अस्पताल उद्घाटनका क्रममा भएको झडप र प्रहरी गोली प्रहारको घटनाबारे छानबिन गर्न मधेश प्रदेश प्रहरी कार्यालयले समिति गठन गरेको छ। घटनास्थलको सुरक्षा कमान्ड सम्हालेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुमन लामाको जिम्मेवारीसमेत खोसिएको छ।
मधेश प्रदेश प्रहरी कार्यालयले घटनाको छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकालको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको हो। समितिमा प्रहरी उपरीक्षक भुवनेश्वरप्रसाद साह र प्रहरी निरीक्षक जटाशंकर यादव सदस्य छन्।
शनिबार फेटा गाउँपालिका–३ मा अस्पताल उद्घाटनका क्रममा दुई पक्षबीच विवाद भएर झडप भएको थियो। झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाउँदा स्थानीय युवक आदित्य पासवान घाइते भएका थिए। घटनामा पाँच जना प्रहरीसमेत घाइते भएका थिए। झडपका क्रममा मोटरसाइकलमा आगजनी र अस्पतालमा तोडफोडसमेत भएको थियो।
घटनापछि इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक लामालाई जिम्मेवारीबाट हटाइएको हो। घटनाका बेला उनी सुरक्षा व्यवस्थापनको जिम्मेवारीमा थिए। घटनाको छानबिनका लागि गठित समितिले झडपको अवस्था, प्रहरीको भूमिका, सुरक्षा व्यवस्थापन र बल प्रयोगको परिस्थितिबारे अध्ययन गर्ने जनाइएको छ।