छात्रावासमा बस्ने छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा निजी विद्यालयका शिक्षक पक्राउ

 संवाददाता    २०८२, ११ बैशाख बिहीबार ११:४७     103 जनाले पढ़िसके



Spread the love

छात्रावासमा बस्ने छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा संखुवासभाको एक निजी विद्यालयका शिक्षक पक्राउ परेका छन्।

सदरमुकाम खाँदबारीस्थित सूर्य सेकेन्डरी बोर्डिङ स्कुलमा कार्यरत शिक्षक ३१ वर्षीय विवेक खत्रीलाई प्रहरीले पक्राउ गरेको हो।

चैनपुर नगरपालिका-३, सिद्धकाली निवासी खत्रीले आफ्नै विद्यालयमा अध्ययन गर्ने एक बालिकालाई गत आइतबार बिहान करिब १ बजे छात्रावासमा यौन दुर्व्यवहार गरेको आरोप लागेपछि पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पक्राउ परेका खत्री विद्यालयकै होस्टलमा बस्दै आएका थिए।

खत्रीले बालिकालाई आफू सुत्ने कोठामा बोलाई बाल यौन दुरुपयोग गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि पक्राउ गरिएको प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए।

खत्रीलाई सङ्खुवासभा जिल्ला अदालत, चैनपुरबाट पाँच दिन हिरासतमा राख्ने अनुमति प्राप्त गरी बाल यौन दुरुपयोग कसुरमा थप अनुसन्धान भइरहेको लामिछानेले बताए।