माओवादीले भन्याे– ‘सरकार पूर्णरूपमा फेल भइसक्याे’

 संवाददाता    २०८२, १० बैशाख बुधबार १९:५७     103 जनाले पढ़िसके



Spread the love

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले सरकार पूर्णरूपमा ‘फेल’ भएको आरोप लगाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा माओवादीले सरकार असफल भएकाे आरोप लगाएको हो ।

पत्रकार सम्मेलनमा माओवादीका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले नागरिक निराश र आक्रोशित रहेको भन्दै सरकारको कुशासन र नालायकीका कारणले प्रतिगामी तत्त्वहरू सलबलाइरहेको जिकिर गर्नुभयो ।

शिक्षक, चिकित्सक, नर्स, लघुवित्त पीडित, सहकारी पीडित, कर्मचारीहरू आन्दोलित भएकाे भन्दै उपाध्यक्ष सापकोटाले राज्यका कुनै पनि क्षेत्रले शान्तिसँग काम गर्न नसकेको दाबी गर्नुभयाे । उहाँले समस्याको समाधानको सट्टा सरकार उल्टो गतिमा हिँडिरहेको आरोपसमेत लगाउनुभयो ।

सत्तापक्षकै नेताहरू नै सरकारका कार्यसम्पादनप्रति सन्तुष्ट नरहेको बताउँदै उहाँले सरकार नागरिकका समस्या समाधानमा गैरजिम्मेवार बनेको उल्लेख गर्नुभयाे ।

नेकपा (माओवादी केन्द्र) ले विद्यालय शिक्षा विधेयकलाई फास्ट ट्र्याकबाट पास गरी शिक्षकका माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।