धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेका छन्। वर्षभरि धानखेती गर्दा मुस्किलले ५० हजार रुपैयाँ आम्दानी हुने जमिनमा व्यावसायिक फूलखेती गरेर १० देखि १२ लाख रुपैयाँसम्मको कारोबार गर्ने लक्ष्यसहित झापाको बुद्धशान्तिका तीन किसान जुटेका छन्।
बुद्धशान्ति गाउँपालिका–३ दुइरिङ्गेका विनोद रिजाल, गुणराज न्यौपाने र वीरबल बानियाँले सामूहिक रूपमा १० कट्ठा जमिनमा सयपत्रीखेती गरेका हुन्। ‘कृषि कम्पास’ समूह गठन गरेर सुरु गरिएको उनीहरूको यो प्रयास परम्परागत खेतीको विकल्प खोजिरहेका किसानका लागि नयाँ सम्भावनाका रूपमा देखिएको छ।
समूहले १० कट्ठा जमिनमा सात हजारभन्दा बढी सयपत्रीका बिरुवा रोपेको छ। खेती सुरु गर्दा पाँच लाख ५० हजार रुपैयाँ लगानी गरेका उनीहरूले यसबाट करिब १० हजार माला उत्पादन हुने अपेक्षा गरेका छन्। उत्पादित माला बिक्रीबाट १० देखि १२ लाख रुपैयाँसम्म आम्दानी हुने उनीहरूको अनुमान छ। अहिले खेतमा फुलेका फूल टिप्ने, माला उन्ने र तयार भएका माला चिस्यानयुक्त भण्डारण कक्षमा राख्ने काम भइरहेको छ।
समूहका सदस्य गुणराज न्यौपानेका अनुसार सोही जमिनमा धानखेती गर्दा करिब ३० मन धान उत्पादन हुन्थ्यो। त्यसको बजार मूल्य करिब ५० हजार रुपैयाँ मात्र पर्छ। धानखेतीबाट हुने आम्दानी र फूलखेतीको सम्भावित कारोबार तुलना गर्दा धेरै फरक देखिएपछि उनीहरूले वैकल्पिक खेती रोजेका हुन्।
‘यही जग्गामा धान रोपेको भए जम्मा ३० मन उत्पादन हुन्थ्यो। त्यसको बजार मूल्य करिब ५० हजार रुपैयाँ मात्रै हो। पाँच–सात वर्ष धानखेती गरेर हुने आम्दानी फूलखेतीबाट एकै वर्षमा लिन सकिने देखिएको छ’, न्यौपानेले भने।
उनका अनुसार फूलखेतीमा बजारको सम्भावना पनि राम्रो छ। एउटा मालाको मूल्य एक सयदेखि एक सय ५० रुपैयाँसम्म पर्ने भएकाले उत्पादन बिक्री गर्न सके अपेक्षित आम्दानी लिन सकिने उनको विश्वास छ।
धानखेतीको तुलनामा फूलखेतीबाट बढी आम्दानी लिन सकिने सम्भावना देखेपछि समूहले आगामी वर्ष खेती विस्तार गर्ने योजना बनाएको छ। समूहका अर्का सदस्य विनोद रिजालले आगामी वर्ष तीन बिघा क्षेत्रफलमा फूलखेती विस्तार गर्ने तयारी भइरहेको बताए। यस वर्षको अनुभव र बजारको मागले थप क्षेत्रफलमा खेती गर्न उत्साहित बनाएको उनको भनाइ छ।
तर फूलखेतीमा आम्दानीको सम्भावना जति छ, चुनौती पनि उत्तिकै छन्। फूल टिपेपछि लामो समयसम्म ताजा राख्नुपर्ने र बजारसम्म पुर्याउनुपर्ने समस्या किसानका लागि मुख्य चुनौती बनेको छ। विशेषगरी भारतबाट आयात हुने फूलका कारण स्थानीय उत्पादनले बजार नपाउने र लगानी डुब्न सक्ने चिन्ता उनीहरूमा छ।
यही समस्यालाई लिएर जिल्लाका व्यावसायिक फूल किसानको समूहले मंगलबार प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई भेटेर सातबुँदे मागपत्र बुझाएको थियो। किसानले स्वदेशी सयपत्री फूललाई स्थानीय बजारमा पहिलो प्राथमिकता दिनुपर्ने र भारतबाट हुने अनधिकृत आयात नियन्त्रण गर्नुपर्ने माग राखेका थिए।
किसानका माग र जिल्लामा फूलखेतीको अवस्थाबारे जानकारी लिन प्रमुख जिल्ला अधिकारी पोखरेल शनिबार बुद्धशान्ति पुगे। उनले व्यावसायिक फूलखेती गरिरहेका किसानसँग भेटेर उत्पादन, लगानी र बजारको अवस्थाबारे स्थलगत जानकारी लिएका थिए।
सो अवसरमा पोखरेलले स्थानीय उत्पादनले बजारको माग धान्न सक्ने अवस्था भए बाहिरबाट हुने फूल आयात नियन्त्रण गर्न सकिने बताए।
‘तपाईंहरूले सामूहिक रूपमा गर्नुभएको व्यावसायिक फूलखेती र स्वदेशी उत्पादनले बजार पाउनुपर्छ भन्ने माग जायज छ। प्रशासनले पनि स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिन्छ’, उनले भने, ‘झापामा फूलको माग ठूलो छ। स्थानीय उत्पादनले बजारको माग धान्न नसक्ने हो कि भन्ने चिन्ता छ। पूर्वी पहाडका अन्य जिल्लाबाट पनि फूल मगाउन सकिन्छ।’
स्थानीयसमेत रहेका ‘सुन्दर शान्त नेपाल’का अभियानकर्मी मनिष दाहालका अनुसार जिल्लामा व्यावसायिक फूलखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ। बुद्धशान्तिका शान्तिनगर, सुनमाई र गोपालडाँडालगायत क्षेत्रमा ठूलो क्षेत्रफलमा व्यावसायिक फूलखेती भइरहेको उनले बताए।
किसानको बढ्दो आकर्षण र खेती विस्तारको क्रमले झापालाई फूल उत्पादनमा आत्मनिर्भर बनाउने सम्भावना देखाएको दाहालको भनाइ छ। स्थानीय उत्पादनलाई बजारको सुनिश्चितता, भण्डारणको व्यवस्था र आयात व्यवस्थापन गर्न सके धानखेतीमा सीमित किसानलाई वैकल्पिक आम्दानीको बाटो खुल्ने देखिन्छ।