सर्लाही बलात्कार घटना : अभियुक्तको हाजिरी जमानी लिने महतो पक्राउ

 संवाददाता    २०८१, ११ चैत्र मंगलवार ११:४०     300 जनाले पढ़िसके



Spread the love

सर्लाहीको हरिवन नगरपालिका–१, भोक्टेनीमा एक ४५ वर्षीय महिला आफ्नै छिमेकीबाट बलात्कृत भएको घटनामा संलग्न व्यक्ति अझै फरार रहेका बेला प्रहरीले अभियुक्तको हाजिरी जमानी लिने इन्द्रदेव महतोलाई पक्राउ गरेको छ ।

पीडित महिलाका अनुसार, फागुन २१ गते राति स्थानीय जिवछ महतो कोईरीले घरमा कोही नभएको मौका छोपी जबरजस्ती करणी गरेका थिए । घटनाको भोलिपल्ट फागुन २२ गते पीडितले इलाका प्रहरी कार्यालय, हरिवनमा लिखित उजुरी दिएकी थिइन् । प्रहरीले प्रारम्भिक अनुसन्धान अघि बढाउँदै सोही दिन अभियुक्त जिवछ महतोलाई नियन्त्रणमा लिएको थियो ।

तर, घटनाको एक दिनअघि अर्थात् फागुन २० गते अभियुक्त जिवछ महतोकी आमाको निधन भएको कारण देखाउँदै हरिवन–४, सासापुरका इन्द्रदेव महतोले काज किरिया सम्पन्न भएपछि पुनः उपस्थित गराउने सर्तमा अभियुक्तलाई हाजिरी जमानीमा छुटाएका थिए । तर, काज किरिया सम्पन्न भए पनि जिवछ महतो प्रहरी समक्ष हाजिर नभई फरार भए ।

यसपछि, पीडित महिलाले चैत्र ४ गते औपचारिक रूपमा जाहेरी दर्ता गराएकी थिइन्। अभियुक्त फरार भएपछि घटनालाई ढाकछोप गर्ने प्रयास भइरहेको पीडित परिवारको आरोप छ । केही स्थानीय नेताहरूले पीडित पक्षलाई १५ लाख रुपैयाँको सेटिङ मिलाइदिने भन्दै प्रलोभन दिने प्रयास गरेको पनि आरोप लागेको छ ।

यसैबिच, सोमबार प्रहरीले अभियुक्तको हाजिरी जमानी लिने इन्द्रदेव महतोलाई पक्राउ गरेको छ । पीडित परिवारले घटनाको न्यायिक छानबिन गरी मुख्य अभियुक्तलाई चाँडो पक्राउ गर्न माग गरेका छन्। प्रहरीले पनि अभियुक्तको खोजी तीव्र पारिएको जनाएको छ ।