होली मधेसमा किन पूर्णिमाको भोलिपल्ट मनाइन्छ ?

 संवाददाता    २०८१, २९ फाल्गुन बिहीबार १४:३९     98 जनाले पढ़िसके



Spread the love

होली केबल रङको पर्व मात्र नभई सत्यको विजय, प्रेम, खुसी, नयाँ जीवन र सामाजिक सद्भावको प्रतीक हो। यसले हामीलाई बिगतका कटुता बिर्सेर खुसी, मित्रता र एकतालाई प्राथमिकतामा राख्ने सन्देश दिन्छ। सायद त्यसैले नेपालमा विशेष उल्लासका साथ होली पर्व मनाउने गरिन्छ ।

होलीको कुरा गर्दा भक्त प्रल्हाद, उनका पित्ता हिरण्यकश्यपु र होलिकासँग जोडिएको पाइन्छ । प्रल्हादले आफ्ना पिता हिरण्यकश्यपुलाई सर्वशक्तिमान, श्रेष्ठ नमानी भगवान मान्ने गर्थे।

 

यसै कारण प्रल्हादलाई जलाएर मार्ने षड्यन्त्र असफल भएको र आगोमा नजल्ने वरदान पाएकी ‘होलिका’ अरुको अहित गर्ने उद्देश्य लिएका कारण भस्म भएकोले नै होली मनाउने गरेको पौराणिक कथन छ ।

होलीको अर्को पक्ष पनि छ । होलीलाई ‘फागु पूर्णिमा’ पनि भनिन्छ। भगवान कृष्णले राधा र गोपिनीहरूसँग रङ खेल्दै रमाइलो गरेको कथा पनि यो पर्वसँग जोडिएको छ। कृष्णले आफ्नो श्याम वर्ण (रङ) लाई लिएर चिन्ता व्यक्त गर्दा माता यशोदाले राधालाई रङ लगाउन भनेकी थिइन् ।

 

राधाले कृष्णलाई रङ लगाएपछि उनीहरूको प्रेम झनै गहिरियो। यसै परम्परालाई जीवन्त राख्न होलीमा रङ खेल्ने चलन छ। र, यो विशेषत: प्रेमीहरूका बीचमा अझ लोकप्रिय रहेको छ ।

धर्म एउटै, चलन एउटै, कथा एउटै भए पनि पहाडी र तराई क्षेत्रमा होली मनाउने दिन फरक किन ? धेरैलाई जिज्ञाशा हुने गर्छन् । पहाडी क्षेत्रमा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाइन्छ तर तराईमा त्यसको भोलिपल्छ रङ खेलेर होली मनाउने चलन छ।

नेपालको पहाडी र तराई क्षेत्रका परम्परागत चलनहरु फरक फरक रहेका छन्। पहाडतिर पनि फाल्गुन महिनाको पूर्णिमा तिथिमा नै होलिका दहन गरिन्छ । तराईमा पनि सोही राति होलिका दहन गरिन्छ । यसमा भिन्नता छैन ।

तराईमा पूर्णिमाको भोलिपल्ट होली मनाइन्छ, आखिर किन ?

मैथिली एसोसिएसन नेपालका अध्यक्ष प्रविण नारायण चौधरीका अनुसार होली पूर्णिामाका दिन घरका देवीलाई पूजा-आराधना गर्ने गरिन्छ । राति होलिका दहन गर्ने भएकाले भोलिपल्ट बिहान देवीको प्रसाद ग्रहण गर्ने र रङ/अबिर खेलेर होली मनाउने प्रचलन भएकाले एक दिन ढिला भएको हो ।

हुनत होली भनेको खानपिनसँग पनि सम्बन्धित छ ।

मधेसमा नवरात्री, लक्ष्मीपूजा लगायतका शुभउत्सव तथा पूजाहरुमा माछा-मासु नखाने, व्रत वस्ने प्रचलन छ । फागु पूर्णिमाको दिन शुभ दिन रहेको, यस दिन होलिका दहन गरिने, भगवान नर्सिङहको जन्म भएर हिरण्यकैश्यपको बध गरेकाले सो दिन राक्षसी भोजन (माछा-मासु) सेवन नगर्ने भएकाले पनि भोलिल्ट मान्ने प्रचलन भएको हुनसक्ने चौधरीको तर्क छ।

होली वसन्त ऋतुको आगमनको संकेत पनि हो। यो समय जाडो सकिएर गर्मी सुरु हुने समय हो, जहाँ वातावरणमा खुसी, उमंग र नयाँ ऊर्जा ल्याउने विश्वास गरिन्छ ।

यसबेला आँप, लिची फुल्न थाल्ने, किसानहरूले बाली भित्र्याउने हुन्छ । प्रकृतिलाई धन्यवाद दिन पनि होली मनाउने गरिन्छ भन्ने तर्क पनि समाजमा विद्यमान छ ।

त्यस्तै होली सामाजिक तथा सांस्कृतिक रूपमा पनि महत्वपूर्ण छ। यो पर्वमा सबै वर्ग, जात, धर्म, उमेरका मानिसहरू एकै ठाउँमा भेला भएर रङ खेल्छन् । मिठाइ बाँड्छन्, र रिसराग बिर्सेर नयाँ सम्बन्ध सुरुवात गर्छन्। पुरानो मनमुटाव मेटाउने, मित्रता बलियो बनाउने र समाजमा भाइचारा फैलाउने पर्वका रूपमा पनि होली मनाइन्छ।

होली जहिले मनाए पनि अरुको अहितको कामना गरे भस्म हुनुपर्ने शिक्षा लिएर सदैव मानव हित, एकता र आपसी सद्भाव कायम गर्ने उद्देश्यका साथ मनाइयोस् । सकारात्मक उर्जा र प्रेम बढोस् र यसका लागि मनाइयोस्।