पर्यटकीयस्थल घोडेपानीमा हिमपात

 संवाददाता    २०८१, ८ फाल्गुन बिहीबार १६:३९     60 जनाले पढ़िसके



Spread the love

म्याग्दीको पर्यटकीय स्थल घोडेपानीमा बिहिबार दिउँसो हिमपात भएको छ । अन्नपूर्ण गाउँपालिका, ६ को घोडेपानी, पुनहिल र वडा नम्बर ५ को खोप्रालेकमा हिमपात भएको हो।

समुद्री सतहदेखि दुई हजार आठ सय मिटर उचाईमा रहेको घोडेपानी र तीन हजार दुईसय १० मिटर उचाईमा रहेको पुनहिलमा आज दिउँसो हिमपात भएको घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले बताउनुभयो ।

घोडेपानी र पुनहिल अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तब्य हो । यो सिजनको दोस्रो पटक घोडेपानीमा हिमपात भएको उहाँले जानकारी दिनुभयो । ‘आज विहानै देखि मौसम चिसो थियो । अहिले हल्का हिँउ परिरहेको छ । हिँउले वरपरका हिमालहरु सेता देखिन थालेका छन् । हिँउ परेपछि चिसो बढेको छ,’ उहाँले भन्नुभयो ।

हिमपातसँगै वरपरका हिमालहरु सेताम्मे भएका छन् । पुस/माघ महिनामा पर्ने हिँउ फागुनको पहिलो हप्ता मात्र परेको छ । यसअघि पुस महिनामा पनि हल्का हिँउ परेको थियो ।

हिमपात नहुँदा हिमालहरु काला पहाडमा परिणत भएका थिए । हिमपात सँगै पर्यटक आगमन वृद्धि हुने घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष पुनले बताउनुभयो । यसैगरी लामो समय पछि आज दिउँसो म्याग्दीमा हल्का वर्षा भएको छ ।