पाथीभरा केबलकार बनाउन माग गर्दै फुङलिङमा प्रदर्शन

 संवाददाता    २०८१, ७ फाल्गुन बुधबार १६:३४     104 जनाले पढ़िसके



Spread the love

ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर जाने बाटोमा केबलकार निर्माणको माग गर्दै जिल्ला सदरमुकाम फुङलिङमा प्रदर्शन गरिएको छ ।

आफूहरु केबुलकार निर्माणको पक्षमा रहेको सन्देश दिने उद्देश्यले स्थानीयहरुले केबुलकार निर्माण गर्न पाथीभरा देवी केबुलकार कम्पनीलाई आग्रह गरेका छन् । स्थानीयले लगानीमैत्री वातावरण सृजना गर्न सरकारलाई आग्रह गर्दै विभिन्न प्लेकार्ड र ब्यानरसहित प्रदर्शनमा सहभागी भएका हुन् ।

ताप्लेजुङको विकास र सम्मृद्धि रोक्न गरी कार्य नगर्न समेत उनीहरुले आग्रह गरेका छन् ।ताप्लेजुङ विकास प्रेमी युवा समाजको आयोजनामा गरिएको प्रदर्शनमा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधि, नागरिक समाज तथा विभिन्न संघसंस्थाको उपस्थिति थियो ।

पाथीभरा क्षेत्रमा केबलकार बनाउँदा मन्दिरको ऐतिहासिक महत्व र पहिचान गुम्ने दाबी गर्दै केही व्यक्तिहरुले विरोध गरिरहेका छन् । पाथिभरामा केबलकार निर्माणको प्रसंग चार दशकअघि उठे पनि २०७२ सालमा मात्रै पाथीभरा देवी दर्शन केवलकार प्रालिको स्थापना भएको हो ।

यस आयोजनाले २०७५ सालमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार केबलकार निर्माणको अनुमति लिएको थियो । केबलकारको अलाइनमेन्ट क्षेत्रमा पर्ने रुख कटान गर्ने र विस्तृत आयोजना प्रतिवेदन स्वीकृत गर्ने काम समेत सम्पन्न भइसकेको छ । केबलकार निर्माणको औपचारिक शिलान्यास गरी यही महिनादेखि भौतिक निर्माण सुरु भएको थियो।