दिनेश त्रिपाठी कुटपिट : रास्वपाका जिल्ला उपाध्यक्षसहित तीनै जनासँग धरौटी माग

 संवाददाता    २०८१, २५ माघ शुक्रबार १५:५७     121 जनाले पढ़िसके



Spread the love

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने तीन जनालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।

जिल्ला अदालत काठमाडौँका न्यायाधिश गायत्रीप्रसाद रेग्मीको इजलासले शुक्रबार ज्यान मार्ने उद्योगको मुद्दामा पक्राउ परेका तीनै जनालाई एक एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

हातपातको आरोपमा पक्राउ परेका दोलखाको तामाकोसी गाउँपालिका १ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका ५ टिकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसी, हुम्लाको अदानचुली गाउँपालिका ४ घर भई हाल काठमाडौँको टोखा बस्ने ३२ वर्षका महानन्द जैसी र झापाको बुद्धशान्ती गाउँपालिका ४ घर भई शान्तिनगर बस्ने ५५ वर्षकी शीतल राई भन्ने सितादेवी राईविरुद्ध मुद्दा दर्ता भएको हो।

महानन्द जैसी राष्ट्रिय स्वतन्त्र पार्टीको हुम्ला जिल्लाका उपसभापति हुन्। उनले धरौटी बुझाइसकेका छैनन्। अरु दुई जना भने धरौटी बुझाएर रिहा भइसकेका छन्।
धरौटी नबुझाए उनी कारागार चलान हुनेछन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता तथा रवि लामिछानेका समर्थकले माघ २ गते जिल्ला अदालतको गेट बाहिर त्रिपाठीमाथि हातपात गरेका थिए।

उनीहरुविरुद्ध १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवानाको माग गरिएको छ। यस्तै पीडितलाई उचित क्षतिपूर्ति भराइदिनुपर्ने पनि अभियोग पत्रमा माग गरिएको छ।

स्वर्णलक्ष्मी सहकारी ठगीको अभियोगमा रवि अदालतमा थुनछेकका लागि हाजिर भएपछि त्रिपाठीले सहकारी पीडितको तर्फबाट बहस गरेका थिए। बहस सकेर निस्कने क्रममा उनीमाथि हातपात भएको थियो।