विवाह भएको दुई महिनामै महोत्तरीमा २१ वर्षीया युवतीको हत्या भएको छ।
गौशाला नगरपालिका- ८ की २१ वर्षीया खुस्बु यादवको हत्या भएको अवस्थामा आइतबार शव फेला परेकाे हो। उनको हत्या पति अभिषेक यादवले गरेको आरोप माइती पक्षले लगाएका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीले भने यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ।
‘मृतक युवतीका पति हाल फरार छन्,’ जिप्रका महोत्तरीका डीएसपी सन्तुलाल जैसवालले भने, ‘हामी उनको खोजी गरिरहेका छौँ। हत्यामा परिवारका अन्य सदस्यको पनि मिलेमतो रहेको आशंका छ।’ उनले अहिलेसम्म कसैलाई पक्राउ भने नगरिएको बताए।
खुस्बुको शव आइतबार दिउँसो गौशाला वडा नम्बर- ५ को एकान्त ठाउँमा रहेको भिसघारीमा फेला परेको हो।
‘घरदेखि केही टाढा रहेको रुख बुट्यान रहेको घारी क्षेत्रमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा उनको शव फेला परेको हो,’ डीएसपी जैसवालले भने, ‘विवाह भएदेखि नै पतिपत्नीबीच झगडा हुँदै आएको स्थानीयले बताएका छन्। दाइजोको निहुँमा हत्या भएको आशंका स्थानीयको छ। हामी अनुसन्धानकै क्रममा छौँ।’