भारत बाट ९० हजार मेट्रिक टन गहुँ आयात गरिँदै

 संवाददाता    २०८१, १५ माघ मंगलवार ११:४८     115 जनाले पढ़िसके



Spread the love

काठमाडौं । भारत बाट ९० हजार मेट्रिक टन गहुँ आयात हुने भएको छ । मुलुकमा माग अनुसार गहुँको उत्पादन हुन नसकेपछि भारत बाट आयात गर्न लागिएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारत सरकार सँग दुई लाख मेट्रिक टन गहुँको माग गरेकोमा भारतले नेपाललाई ९० हजार मेट्रिक टन उपलब्ध गराउने सहमति जनाएको थियो । सोही अनुसार गहुँ आयातका लागि आवेदन माग गरिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार सूचना निकालेर भारत बाट ९० हजार मेट्रिक टन गहुँ आयात गर्न इच्छुक फर्म र कम्पनीका लागि आवेदन माग गरेको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा बाहिरी मुलुक बाट समेत गहुँ आयात हुने गरेकामा केही वर्ष देखि भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाए पछि गहुँको आयात हुन सकेको थिएन् ।

गहुँ अभावले गर्दा मैदा मिल पूर्ण रूपमा सञ्चालन हुन सकेका छैनन । भारत बाट ९० हजार मेट्रिक टन गहुँ आयात भएपछि भने केही सहज हुने अनुमान गरिएको छ । मुलुकभर ३८ वटा मैदा मिल छन् । ती मिल सञ्चालनको लागि वार्षिक १० लाख मेट्रिक टन गहुँ आवश्यक पर्ने बताइन्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा छ लाख ९७ हजार ७६२ हेक्टर क्षेत्रफलमा २० लाख ९८ हजार ४६२ मेट्रिक टन गहुँ उत्पादन भएको छ ।

यस्तै, आर्थिक वर्ष २०७८/७९ मा सात लाख १६ हजार ९७८ हेक्टर क्षेत्रफलमा २१ लाख २७ हजार २७६ मेट्रिक टन गहुँ उत्पादन भएको छ ।