यौन दुर्व्यवहारको आरोपमा मदन राईलाई अदालतले दोषी ठहर गरेको छ। जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले बिहीबार राईलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि अर्को पेशीमा पेस गर्न आदेश दिएको हो।
माघ २५ गतेको पेशीमा उनलाई कति सजाय हुने भन्ने फैसला हुनेछ।
२०८० जेठ २१ गते उनीविरुद्ध यौन दुर्व्यवहारको अभियोगमा मुद्दा दर्ता भएको थियो। त्यतिबेला उनी ४ लाख धरौटीमा रिहा भएका थिए।
कृषि विज्ञका रूपमा परिचित मदन राईले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ को उपदफा ३ (क), (ग) (ङ) अन्तरगतको कसुर गरेको आरोप छ।
राईलाई वैशाख २९ गते जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेर अनुसन्धान गरेको थियो।
राईले सञ्चालन गरेको सुभद्रा मदन फाउन्डेसनमै अध्ययन गरेकी बालिकाले उनीविरुद्ध बालयौन दुरुपयोगको कसुरमा जाहेरी दिएकी थिइन्।
यसअघि प्रहरी र सरकारी वकिल कार्यालयले उनीसँग जेठ ३ गते बयान लिएका थिए। बयानका क्रममा उनले यौनजन्य गतिविधि गरेको स्वीकार गरेका थिए।
तर यौन दुरुपयोगको नियतले नभई यौन शिक्षा दिने उद्देश्यले त्यस्ता गतिविधि गरेको उनको बयान छ।
अब उनलाई तीन वर्षभन्दा बढी कैद सजाय हुनेछ। तर कति हुने भन्ने अर्को पेशीबाट तोकिनेछ।