एजेन्सी । अमेरिकाले सबै वैदेशिक अनुदान तत्कालका लागि रोकेको छ ।
अमेरिकी विदेश मन्त्री मार्को रुबियोले अहिले कायम वैदेशिक सहायता र नयाँ अनुदान वितरण कार्य स्थगन गर्न मातहत निकायलाई निर्देशन दिएका हुन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले गत सोमबार हस्ताक्षर गरेको वैदेशिक अनुदान पुनर्मूल्याङ्कन सम्बन्धी कार्यकारी आदेशका आधारमा ट्रम्प प्रशासनले ९० दिनका लागि वैदेशिक सहायता रोकेको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अमेरिकी विदेश मन्त्रालयले मातहतका निकायमा अनुदान रोक्न जारी गरेको निर्देशनमा प्रस्तावित नयाँ सहायता वा हाल कायम अनुदानको थप बिस्तार बारे समीक्षा तथा अनुमोदन नभए सम्म नयाँ अनुदान वा विद्यमान अनुदान विस्तारका लागि कुनै पनि नयाँ कोष नबनाउन भनेको हो ।
आपत्कालीन खाद्य सहायताका साथै इजरायल र इजिप्टको सैन्य कोषका लागि गर्ने सहयोगमा रोक लागेको छैन । तर, गाजामा मानवीय सहायता र सुडान लगायत विभिन्न देशको भोकमरीको सङ्कटमा सहायता प्रभावित हुने समाचारमा उल्लेख छ ।