जिंगटको रूखबाट खसेर मृत्यु भएको भनिएका दाङ दंगीशरण २ कौवाघारीका प्रेमलाल कुसारीको गोली हानेर हत्या भएको खुलेको छ । माघ ३ गते बेलुकी घर नजिकैको जिंगटको रूखबाट खसेर घाइते भएको भन्दै स्थानीयले उचारका लागि उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याएका थिए । खुट्टाको घुँडा र साप्रोमा गम्भीर चोट लागेका उनलाई थप उपचारका लागि नेपालगन्ज लगिएको र त्यहाँ चिकित्सकले कुसारीलाई मृत घोषणा गरेका थिए ।शव घर ल्याएर राति नै उनको दाहसंस्कार गर्ने तयारी थियो तर, छिमेकीले कुसारीलाई गोली हानिएको सुचना लिक गरेपछि दाहसंस्कार रोकिएको छ । प्रहरी मृतकको घरमा पुगेर अनुसन्धान थालेको छ । प्रहरी स्रोतका अनुसार केहीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा शिकार खेल्न गएका बेला बन्दुक आफैँ पड्केर कुसारीको ज्यान गएको बयान दिएका छन् ।