लोपोन्मुख सिमान्तकृत जातिको रुपमा रहेको राउटे समुदायमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-२ स्थित गिरीघाट खोला किनारमा अस्थायीरुपमा बसोवास गरिरहेका राउटे बस्तीमा सोमबार स्वास्थ्य शिविरको आयोजना गरिएको हो।
हर्ट नेपाल र नविल बैंकको आयोजनामा जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वयमा स्वास्थ्य शिविरको आयोजनामा राउटे समुदायका ४६ महिला र ५८ पुरुष गरी १ सय चार जनाको निशुल्क स्वास्थ्य जाँच गरिएको छ।
कर्णाली प्रदेश अस्पताल सुर्खेतका सर्जन डाक्टर सुजन सोपकोटाको नेतृत्वमा ४ जना बिषेशज्ञ चिकित्सकको टोलीले राउटेहरुको स्वास्थ्य परिक्षण गरेको हो।
उपचारमा संलग्न डाक्टर सापकोटाले अधिकांश राउटेहरुमा चिसोका कारण रुघा खोकी, शारिरिक चोट पटक तथा अव्यवस्थित खानपानका कारण उच्चरक्त चाप लगायतका समस्या देखा परेको बताए।
सापकोटाले उक्त समस्या महिलाभन्दा पुरुषमा बढी देखिएको र महिलामा पाठेघरसम्बन्धी समस्या भएपनि उनीहरुले जाँच गर्न भने नमानेको बताए।
उक्त शिविरमा ३६ जना स्थानीयको पनि निशुल्क स्वास्थ्य जाँच गरिएको थियो। लोपोन्मुख जातिको रुपमा रहेको राउटे समुदायको जनसंख्या पछिल्ल्लो समय अव्यवस्थित खानपान र जीवनशैलीका कारण घट्दोक्रममा रहेको छ।
हाल उनीहरुको जनसंख्या १ सय ३४ रहेको छ।