सिन्धुलीको हरिहरपुरगढी नगरपालिका-३ चपराडाँडामा बुवाको कुटपिटबाट छोराको मृत्यु भएको छ। चपराडाँडाका ७६ वर्षीय डोमान सिंह सार्कीले आफ्नै छोरा ४९ वर्षीय लीलाबहादुर पुर्कोटी सार्कीलाई फलामको गलले प्रहार गर्दा मृत्यु भएको हो।
स्थानीयका अनुसार लिलाबहादुर प्रायः सधैँ रक्सी खाएर आमा बावुसँग झगडा गर्थे। शनिबार साँझ ८ बजेतिरको समयमा उनी रक्सी खाएर बावु डोमानलाई मुख छाड्दै घरको आगनमा आइपुगेका थिए।
रक्सी खाएपछि आमा बावुसँग झगडा गर्ने गरेका लिलाबहादुरले शनिबार साँझ पनि उस्तै हर्कत देखाए। छोराले मुख छाड्दै बुवा डोमानमाथि हातपात गर्न थालेपछि ७६ वर्षका डोनामको हात रोकिएन।
घरको एउटा कुनामा राखेको गल र कोदालोले छोरा लिलाबहादुरलाई प्रहार गर्दा उनी सख्त घाइते भए। लिलाबहादुरकी आमा बिल्कु सार्कीले श्रीमानलाई रोक्न खोजिन्। गाउँभरी हारगुहार गरिन्। बिल्कुका कान्छा छोरा टेकबहादुरले पनि दाइ र बुवाबीचको झगडा छुट्याउन खोजे। तर डोमानले गल प्रहार गर्दा लिलाबहादुरको टाउको देखि शरीरका विभिन्न अंगहरुमा गम्भीर चोट लाग्यो।
टेकबहादुरले गाउँभरी हल्लाखल्ला गरे। गाउँका मानिसहरु जम्मा हुँदा लिलाबहादुरको धुकधुकी श्वास बाँकी रहेको सोही वडाका वडा सदस्य कमल बहादुर रानाले बताए। ‘सधैं रक्सी खाएर आउने, घरमा झगडा गर्ने गर्थे, वडासदस्य रानाले भने, ‘अति हुँदा खति हुन्छ भने जस्तै भयो। बावु चाँहिले रिसमा कोदालो र गलले हानेर शरीरमा प्वालै प्वाल बनाएछन्। गाउँका मान्छेहरु पुग्दा अलिअलि मात्रै श्वास बाँकी थियो रे। हेटौँडा अस्पतालमा मृत्यु भएछ।’