विदेश पठाइदिने भन्दै पैसा लिएर फरार सर्लाहीका एकसहित ३ जना पक्राउ

 संवाददाता    २०८१, २२ पुष सोमबार ०८:४९     275 जनाले पढ़िसके



Spread the love

वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै ठगी गर्ने सर्लाहीका एक जनासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाही गोडैता नगरपालिका-१० का २८ वर्षीय राकेश कुमार रावत, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-११ का ३३ वर्षीय दुधराज थिङ र दाङको तुल्सीपुर उपमहानगरपालिका-५ की ३४ वर्षीया प्रभा श्रेष्ठ रहेका छन्।

काठमाडौं महानगरपालिका-९ मा बस्दै आएका रावतले मौरिसस पठाइदिने भन्दै ६ लाख ४५ हजार, ललितपुरको महालक्ष्मी नगरपालिका-९ मा बस्ने थिङले क्यानडा पठाइदिने भन्दै ७ लाख ५० हजार र ललितपुर महानगरपालिका- बस्ने श्रेष्ठले सिंगापुर पठाइदिने भनेर पीडितबाट ७ लाख ८ हजार लिएर सम्पर्कविहीन बनेका थिए।

आकर्षक तलबको प्रलोभनमा पारेर विभिन्न देशहरूमा लैजाने भन्दै लामो समयसम्म झुक्याएका उनीहरूलाई पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको हो।

उजुरीपश्चात काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न स्थानबाट उनीहरूलाई समातेको थियो। पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।