हरिवनमा हत्या गरी गाडिएको अवस्थामा एक व्यक्तिको शव फेला

 #अपराध     २०८१, २० पुष शनिबार १७:२५     1187 जनाले पढ़िसके



Spread the love

मृतक हरि प्रसाई

सर्लाही —सर्लाहीको हरिवनमा हत्या गरी उखुबारीमा गाडिएको अवस्थामा इँटा भट्टा व्यवसायीको शव बरामद भएको छ । हरिवन नगरपालिका–१० इनारटोलका ३९ वर्षीय हरिप्रसाद प्रसाईंको हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।

पारिवारिक स्रोतका अनुसार व्यवसायी प्रसाईं यही पुस १५ गते बिहान बरहथवा नगरपालिका–९ मूर्तियाबाट पैसा लिएर आउँछु भनी घरबाट निस्केका थिए ।

राति अबेलासम्म प्रसाईं घर नफर्के पछि परिवारले प्रहरीमा खबर गरेका थिए । त्यसलगतै स्थानीय र प्रहरीले निरन्तर प्रसाईंको खोजी गरिरहेका थिए । खोजी गर्ने क्रममा शनिबार घर नजिकैको उखुबारीमा हत्या गरेर गाडेको अवस्थामा प्रसाईंको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले प्रसाईंको हत्यामा संलग्न रहेको आशंकामा स्थानीय एक युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । नियन्त्रणमा लिएको युवकको नाम भने प्रहरीले खुलाएको छैन । सुरक्षा स्रोतका अनुसार उनले हत्या गरेको स्विकार गरिसकेका छन। मृतक प्रसाईंको शव प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टमपछि परिवारलाई बुझाइएको प्रहरीले बतायो ।