पोखरा, पुस ९ गते । पर्यटकीय राजधानी पोखरामा मङ्गलबारबाट बिवाइडी अन्तर्राष्ट्रिय बेलुन महोत्सव भएको छ । नेपालको साहसिक पर्यटनको कोसेढुङ्गाको रुपमा स्थापित गर्न नेपालमा पहिलो पटक पोखराको पामे क्षेत्रमा अन्तर्राष्ट्रिय बेलुन महोत्सव आयोजना गरेको हो ।
नौ दिनसम्म चल्ने पहिलो संस्करणको महोत्सवमा झण्डै दुई दर्जन बेलुन पर्यटन राजधानीको रुपमा स्थापित पोखरेली आकाशको उच्च उचाइमा पुगेको देख्न सकिन्छ ।

महोत्सवले पोखरा र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नुका साथै साहसिक पर्यटनलाई पनि अगाडि बढाउने लक्ष्य राखेको छ । महोत्सवले आन्तरिक मात्र नभई विदेशी पर्यटकलाई पनि आकर्षित गर्ने गरी नेपालको अर्थतन्त्रलाई टेवा पुर्याएर पर्यटन क्षेत्रको पुनरुत्थान गर्ने आयोजकको दाबी छ ।
अन्तर्राष्ट्रिय बेलुन फेस्टिभलमा संयुक्त राज्य अमेरिका, स्पेन, लिथुआनिया, थाइल्याण्ड, भियतनामलगायत विश्वका विभिन्न देशको प्रतिनिधित्व हुनेछ । ४० मिनेटको उडानमा बेलुनबाट हिउँले ढाकिएका अन्नपूर्ण हिम शृङ्खलासहित माछापुच्छ्रे र धौलागिरीका साथै पोखरा उपत्यकाको मनोरम दृश्य देख्न सकिने छ ।
यसका साथै सूर्योदय र सूर्यास्तका दृश्य पर्यटकका लागि प्रमुख आकर्षण हुन सक्छ । यसलाई भव्य बनाउँदै, हरेक साँझ आतिशबाजी प्रदर्शन, बेलुन दौड र क्याम्पिङ् पनि आयोजना हुनेछ ।
महोत्सव अवधिभर पोखराका स्थानीय साङ्गीतिक ब्याण्डका साथै दिपक बज्राचार्य एण्ड टिम, राजु लामा एण्ड मङ्गोलियन हार्ट, एलिना चौहान, कुमा सागर एण्ड ख्वपः ब्याण्ड जस्ता शीर्ष नेपाली कलाकारको साङ्गीतिक प्रस्तुति पनि दैनिक रुपमा हुनेछन् ।
