धनुषा — प्रेमिकाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । २०८१ असोज २३ गते बर्दिबास नगरपालिका(५ टुटेश्वरमा २२ वर्षीया अनु रायलाई हत्या गरेको आरोपमा प्रहरीले सर्लाही चक्रघट्टा–९ खोइरियाका २५ वर्षीय मन्दिपकुमार यादवलाई पक्राउ गरेको छ ।
महोतरी अतराढ घर भई जनकपुर बस्दै आएकी अनुलाई मन्दिपले सानै उमेरदेखि मन पराएको र दुवै जनाबीच प्रेम भएपछि एक अर्कासँग विवाह गर्न टुटेश्वर मन्दिरमा भेटेर सहमति भएको थियो । विवाहको सहमतिपछि अभिभावकलाई घरमा बोलाउने विषयमा दुवै जनाबीच विवादपछि एकअर्कालाई कुटपिट हुँदा युवतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तुला प्रसाद जैसवारले बताए ।
२०८१ असोज २३ गते बर्दिबास नगरपालिका(५ टुटेश्वरमा बेवारिसे अवस्थामा शव फेला परेका थिए । टुटेश्वर मन्दिरबाट मृतक महिलासँग आरोपित सबै फर्किएको, टेम्पुमा सँगै यात्रा गरेको भिडियो प्राप्त भएपछि अनुसन्धान गर्दै जाँदा यादवलाई वीरगन्जबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक जैसवारले बताए । पक्राउ परेका यादवलाई कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।